गान्तोक: सिक्किम क्रिकेट एसोसिएशन (सिका) को तत्वावधानमा आयोजित स्नोलायन टी२० लीग आजदेखि रम्फूको माइनिङस्थित सिक्किम क्रिकेट ग्राउण्डमा आरम्भ भयो।
आगामी १ जुलाईको दिन फाइनल खेलिने यस लीगमा राज्यका जम्मा ८ वटा ए डिभिजन क्लबले सहभागिता जनाएको छ।
आज पहिलो दिन दुईवटा म्याच सम्पन्न भयो। बिहानको समय वर्षाको कारण केही विलम्ब गरी आरम्भ भएको उद्घाटन म्याच पाक्योङ इलेभेन र रोयल नर्थ ब्रदर्श माझ खेलिएको थियो जसमा रोयल नर्थ ब्रदर्श ७ रनले विजयी बन्यो। १० ओभरको म्याचमा पहिले ब्याटिङ गर्दै रोयल नर्थ ब्रदर्शले ६ विकेट गुमाएर १०३ रन बनायो। रोयल नर्थ ब्रदर्शको पक्षमा ओपनर जसविर शेरावतले २२ बल खेलेर सर्वाधिक ४८ रन बनाए। पाक्योङ इलेभेनको पक्षमा अविशेक रेग्मी र रोशन कुमारले सर्वाधिक २-२ विकेट लिए।
१०४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको पाक्योङ इलेभेनले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९६ रन मात्र सङ्ग्रह गऱ्यो। क्लबको पक्षमा कप्तान भाष्कर भाराद्वाजले ३२ अनि ओपनर प्रनेश छेत्रीले ३० रन बनाए। निक्कै रोमाञ्चक रहेको म्याचमा अन्तिम ओभरसम्म पनि म्याचको परिणामा कसको पक्षमा जाने भन्ने सुनिश्चित थिएन। एक समय पाक्योङ इलेभेनले लक्ष्यलाई पछ्याउने सम्भावना प्रवल बनेको थियो तर अन्तिम ओभरमा रोयल नर्थ ब्रदर्शले सठिक लाइन र लेन्थमा बलिङ गरेर म्याच आफ्नो पक्षमा बनायो।
यसरी नै दोस्रो म्याच एरिस सीसी र ब्ल्याक इगल बीच भएको थियो जसमा एरिस सीसी ७ विकेटले विजयी बन्यो। पहिले ब्याटिङ गर्दै ब्ल्याक इगलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो। जवाफमा ३ विकेट गुमाएर १९.२ ओभरमा एरिस सीसी-ले लक्ष्य प्राप्त गऱ्यो।
आज उद्घाटन समारोहमा नामथाङ रातेपानी समष्टिका विधायक सञ्जित खरेल मुख्य अतिथि रहेका थिए भने रिञ्चेनपोङका विधायक इरुङ तेञ्जिङ लेप्चाको पनि उपस्थिति रहेको थियो।











