सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर एक किलो ब्राउन सुगर, नगद लाखौँ रुपियाँ सहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा विशाल मण्डल, मानिक मण्डल र मनु लाल सामेल छन्। तीमध्ये विशाल र मानिक दालखोला निवासी हुन् भने मनु लाल मालदाको कालियाचक निवासी हुन्। प्राप्त जानकारी अनुसार, एसओजी र मतिगढा थाना पुलिसले गोप्य सूचनाको आधारमा नेशनल हाईवे संलग्न इलाकामा एउटा मालवाहक पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा लगभग एक किलो ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसको साथै भ्यानबाट रुपियाँले भरिएको एउटा ब्याग उद्धार गरेको छ, जसमा ७ लाख ४५ हजार रुपियाँ नगद राशि थियो। यसपछि भ्यानमा सवार ३ जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो।










