को थिइन् उनी?
क्लियोपेट्रा ई.पू. ६९ मा मिश्रका राजा प्टोलमी बाह्रौँ आउलेट्स र एक अज्ञात आमाबाट जन्मिएकी थिइन्। ३०५ ई.पू.देखि मिश्रमा शासन गरिरहेको प्राचीन प्टोलमी राजवंशकी सदस्य थिइन् उनी।
यस राजवंशले केही मिश्रको धार्मिक परम्पराहरूलाई अपनाए ता पनि शासन भने मुख्यतः ग्रीक शहर अलेक्जान्द्रियाबाट चलाउने गर्थ्यो। त्यसैले क्लियोपेट्राको भाषा कोइन ग्रीक थियो। तर उनले मिश्र भाषा पनि सिकेकी थिइन्। त्यसो गर्ने उनी आफ्नो वंशमा एक्लो थिइन्। यससँगै मिश्रको अस्थिरता र रोमन राजनीतिलाई उनले नजिकबाट नियाल्दै हुर्केने मौका पाइन्।
कसरी उनी मिश्रकी शासक भइन्?
जब उनका पिता ५१ ई.पू.मा बिते, त्यतिबेला क्लियोपेट्रा १८ वर्षकी थिइन्। तर, उनले परिवारको आन्तरिक कलह पनि त्यतिबेलै सामना गर्नुपर्यो। किनकि अब कसले शासन गर्ने भन्ने विवादमा प्टोलमीका सन्तानहरू तानिएका थिए।
त्यसैबीच आफ्ना भाइ प्टोलमी तेह्रौँसँगै मिलेर उनले शासन गर्ने मौका पाइन्। उनले मिश्र परम्परा अनुसार विवाह पनि गरिन्। तर उनको भाइले एकल शासनको चाह राख्दै गए। जसले गृहयुद्धको रूप नै लियो।
त्यसपछि केही समयका लागि क्लियोपेट्रा रोमन नियन्त्रणमा रहेको सिरिया तिर भागिन्। उनका पिताले आफ्नो शासनकालमा रोमसँग घनिष्ठ सम्बन्ध राखेका थिए, जुन छोराछोरीसम्मै पनि कायम थियो।
सिरिया पुगेपछि भने त्यहीँबाटै क्लियोपेट्राले तत्कालीन रोमन सेनापति तथा राजनीतिज्ञ जुलियस सिजरसँग सम्पर्क बढाइन्। त्यो समयमा सिजरले समेत एकछत्र रोमन शासक बन्ने आकांक्षा पालिरहेका थिए।
क्लियोपेट्रा र जुलियस सिजर
उनीहरूबीच उमेरमा करिब ३० वर्षको अन्तर थियो। दुवै पहिले नै विवाहित थिए। तर त्यति हुँदाहुँदै पनि उनीहरूको सम्बन्ध रोमान्टिक बन्नपुग्यो। अनि सिजरले क्लियोपेट्रालाई जुनसुकै हालतमा पनि साथ दिने वाचा दिए।
यता ४७ ई.पू.मा सिजरका सेनाहरूबाट भाग्ने क्रममा क्लियोपेट्राका भाइ प्टोलमी तेह्रौँ नाइल नदीमा डुबेर मरे। त्यसपछि उनै सिजरको सहयोगमा क्लियोपेट्राले फेरि मिश्रको सत्ता हात पारिन्। र आफ्नै १२ वर्षीय भाइ प्टोलमी चौधौँसँग विवाह गरिन्। त्यसको केही समयमा उनले एउटा छोरा जन्माइन्। जसलाई सिजरको छोरा मान्ने गरिन्छ। त्यसको नाम पनि सिजेरियन राखिएको थियो।
तर उनीहरूको सम्बन्ध भने ४४ ई.पू.को मार्च १५ मा सिजरको हत्या हुँदासम्म नै थियो। त्यसबेला क्लियोपेट्रा रोममै थिइन्। उनले सिजेरियनलाई उत्तराधिकारीको मान्यता दिलाउन चाहन्थिन्। तर उनी फेरि रोम छाडेर अलेक्जान्द्रियामा गइन्। किनकि आफ्नै भाइलाई विष खुवाएर मारेको भन्ने हल्ला फैलिएको थियो।
मार्क एन्टनी र क्लियोपेट्रा
सिजर मारिएको समय नै थियो। क्लियोपेट्राको रोमन राजनीतिसँगको सम्बन्ध अझै समाप्त भइसकेको थिएन। त्यसबेला रोमन सैन्य नेता मार्क एन्टनीले क्लियोपेट्रालाई भेट्न बोलाए। एन्टोनी रोमन साम्राज्यका तीन जना शासकहरूमध्येको एक थिए। एन्टनीको बोलावटपछि क्लियोपेट्रा उनलाई भेट्न सन् ४१ ई.पू.मा आधुनिक टर्कीको टार्सस गइन्। त्यहाँ उनी अत्यन्त धनी र प्रभावशाली देखिने भेषमा गएकी थिइन्।
त्यसले एन्टनीलाई तत्कालै गहिरो प्रभाव पार्यो। र, उनीहरूबीच रोमान्टिक सम्बन्ध सुरु भयो। त्यसपछि विवाह गरिसकेका एन्टनी केही समयमै क्लियोपेट्रा रहेको अलेक्जान्द्रिया सरे।
क्लियोपेट्राको पतन
क्लियोपेट्राप्रति एन्टनी यति मोहित भए कि उनले आफ्नो राजनीतिक विवेक गुमाए। तर त्यो कुरा रोमन जनतालाई फिटिक्कै मन परेन । उनीहरूले मिश्रको हस्तक्षेपको रूपमा हेर्न थाले। र उनीहरूले एन्टनीविरुद्ध नै युद्ध गर्न थाले।
युद्बमा एन्टनी कमजोर हुँदै गइरहेका थिए। ई.पू. ३१ को ‘ब्याटल अफ एक्टियम’ पछि त क्लियोपेट्राले पनि बुझिन् कि एन्टनीको सेनाले हार्ने निश्चित छ। त्यसैले उनले एन्टनीलाई भनिन्-म तिमीलाई मारिदिन्छु। यो सुनेपछि एन्टनी आफैंले छुरीको सहायतामा आत्महत्या गरे।
उक्त घटनापछि क्लियोपेट्राले आफ्ना प्रेमीका पूर्वसहशासक अक्टाभियनसँग कुरा गर्ने प्रयास गरिन्। तर उल्टै अक्टाभियनले क्लियोपेट्रालाई बन्दी बनाएर विजय उत्सवका स्वरूप रोमका गल्लीहरूमा परेड गराउने योजना बनाइरहेका थिए। सो कुरा थाहा पाएपछि क्लियोपेट्राले आफ्नो लागि बनाइएको समाधिस्थलमा गई विष प्रयोग गरेर आत्महत्या गरिन्।
यससँगै उनको राजवंशको शासन समाप्त भयो। उनको मृत्युपछि मिश्र पनि रोमन साम्राज्यअन्तर्गत रहन गयो।
क्लियोपेट्राका अज्ञात पाटा
क्लियोपेट्राले विषालु सर्प ‘एस्प’ को सहायता लिएर आत्महत्या गरिन् भन्ने लोककथन प्रचलित छ। तर यस कुराको ठोस प्रमाण छैन। यसका साथै क्लियोपेट्राको समाधिस्थल अहिलेसम्म फेला परेको छैन। क्लियोपेट्रा र एन्टनीको समाधिस्थल एकै थियो। नेसनल जियोग्राफिकका पत्रकार चिप ब्राउनले लेखेअनुसार प्राचीन अलेक्जान्द्रियाका अधिकांश संरचनाहरू करिब २० फिट पानीमुनि गाडिएको छ। सम्भवत: सो कुराले पनि खोजमा गाह्रो बनाएको हुन सक्छ।
त्यस्तै क्लियोपेट्राको अनुहार वा जातीय पहिचानबारे पनि विवाद छ। उपलब्ध केही सिक्कामा उनी साधारण देखिन्छिन् भने केहीमा मार्क एन्टनी समान देखिन्छिन्। यसैबारे केही इतिहासकारहरू भने उनको समयमा ‘जात’को अवधारणा नै विकास नभएको तर्क गर्छन्।
यसैगरी क्लियोपेट्राको समयमा लेखिएका अभिलेखहरू पनि दुर्लभ छन्। अलेक्जान्द्रियाको पुस्तकालय पटक-पटक ध्वस्त भइसकेको छ। जसले गर्दा उनीसम्बन्धी भएका अधिकांश दस्तावेजहरू नष्ट भएका छन्।
रोमन लेखक प्लुटार्कले लेखेको मार्क एन्टनीको जीवनीलाई नै क्लियोपेट्राको शासनबारेको विस्तृत स्रोत मानिन्छ। उनले लेखेअनुसार क्लियोपेट्रा अत्यन्त बुद्धिमान्, अपूर्व सौन्दर्यकी धनी महिला थिइन्। तर प्लुटार्कले यो लेख क्लियोपेट्राको मृत्युको सयौँ वर्षपछि लेखेका थिए।
आज पनि क्लियोपेट्रा
क्लियोपेट्राको जीवनबारे पूर्ण जानकारी नभए पनि उनी आज हामीसामु सांस्कृतिक रूपमा उत्तिकै सजीव छिन्। शेक्सपियरका नाटकदेखि नेटफ्लिक्सका डकुड्रामा सम्ममा क्लियोपेट्रा छाएकी छिन्। ती सबैमा उनी चलाख, शक्तिको भोगी, लोभी रानीको रूपमा चित्रित भएकी छिन्।
सबै ऐतिहासिक दस्तावेजहरूका आधारमा उनी चतुर राजनीतिज्ञ रहेको सम्भवतः यथार्थ थियो। तर किन त्यो समयका शक्तिशाली पुरुषहरू उनीप्रति मोहित भए भन्ने कुरा आज पनि रहस्यकै गर्भमा छ। तर एउटा कुरा निश्चित छ – उनले जे जस्तो काम गरिन्, त्यसले आज पनि संसारलाई मोहित पारिरहेको छ।