रम्फू: मानव उत्थान सेवा समिति सिक्किम राज्य युवा प्रकोष्ठद्वारा आयोजित तीन दिवसीय युवा जागरण कार्यक्रमको पहिलो दिन रम्फूस्थित समिति आश्रम श्री सुयश सत्संग धाम प्रेक्षागृहमा विविध कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा रम्फू तहसील युवा प्रकोष्ठ संयोजक विनय बराईलीले तीन दिवसीय युवा जागरण कार्यक्रम आयोजनको मुख्य उद्देश्यमाथि प्रकाश पारे। यस अवसरमा मानव उत्थान सेवा समितिका राष्ट्रीय सलाहकार तथा राष्ट्रीय प्रेरक वक्ता डा. जेपी अग्रवाल मुख्य वक्ताको रूपमा उपस्थित थिए। आफ्नो संबोधनको क्रममा मुख्य वक्ता अग्रवालले केवल विश्वास गर्नाले मानव जातिले प्रत्येक थोक प्राप्त गर्नसक्ने तथापि यसका निम्ति व्यवहारिकरूपमा अघि आउन पर्ने आग्रह गरे। उनले थप जानकारी गराएअनुसार आजभन्दा पचास वर्षअघि र पचास वर्षभन्दा पछिको फरक मानिसहरूले देखिसकेको अवगत गराउँदै आफ्नो आँखाले देखेका सबै कुरा व्यवहारिक र विज्ञानको देन रहेको जानकारी गराए। विज्ञानले सबै बनाए तर मानवको मनलाई वशमा गर्ने यस्तो कुनै यन्त्र नबनाएको बताउँदै मानव मनलाई केवल आध्यात्मिक ज्ञानद्वारा मात्र वशमा गर्न सकिने बताए।