गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को मल्ली समष्टिस्तरीय कार्यकारी परिषदको सभा आज सम्पन्न भयो। सभालाई पार्टी अध्यक्ष गणेश कुमार राईले अध्यक्षता गरेका थिए। सभामा नाम्ची जिल्ला कार्यकारी परिषदका महासचिव (प्रशासन) दिवस गुरुङले जिल्लामा पार्टीको साङ्गठनिक अवस्था बारे जानकारी गराए। यसरी नै पार्टीका उपाध्यक्ष (सङ्गठन) किरण जिम्बा र सचिव (सङ्गठन) प्रकाश पराजुलीले बैठकलाई सम्बोधन गर्दै पार्टीको जग बलियो बनाउन विभिन्न परिषदको क्षमता विस्तारमाथि जोर दिए।
कार्यक्रम अवधि खुल्ला अन्तरक्रिया सत्र पनि राखिएको थियो जसमा उपस्थित सबैले सक्रिय सहभागिता जनाउँदै विभिन्न प्रश्न राख्नुको साथै सुझाउहरू पनि दिए। यसको साथै कार्यक्रमअवधि परिषदका सदस्यहरूलाई अफिस अर्डर पनि प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश कुमार राईले आजको समष्टिस्तरीय सभामा उपस्थित सुधारवादीहरूको सङ्ख्याले २०२९ को चुनाउमा महत्वपूर्ण भूमिका निभाउने बताए। उनले पार्टी कार्यकर्ताहरूलाई पार्टी अनि सिक्किम र सिक्किमेको सेवामा समर्पित रहने आह्वान गरे। वर्तमानमा राज्यको राजनीतिक साथै सामाजिक स्थितिमाथि आफ्नो विचार राख्दै अध्यक्ष राईले राज्य सरकारको कुशासनको कारण राज्यवासीले समस्या भोग्न परिरहेको बताए। भोलिको दिनमा सिटिजन एक्शन पार्टी, सिक्किमको सरकार आएको खण्डमा आर्थिक स्थिरता, कृषि क्षेत्रको पुनरुत्थान, युवाहरूलाई रोजगारको सुरक्षा आदि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने पनि उनले थप बताए।
पार्टीलाई आर्थिक रुपमा सबल बनाउन अध्यक्ष राईले क्राउड फण्डिङको आवश्यक्तामाथि पनि जोर दिए। उनले मल्ली समष्टि परिषदलाई यस दिशामा सक्रियतासित पहल गरेर उदाहरण प्रस्तुत गर्ने अपील गरेका छन्।