गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज देशका उपराष्ट्रपति जगदीप घनखड र रक्षामन्त्री राजनाथ सिंहसँग नयाँ दिल्लीमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल माथुरले सिक्किम राज्यमा सम्पन्न भइरहेको विकासत्मक कार्यबारे जानकारी गराउँदै राज्यको प्रगतिको उल्लेख गरे। यस क्रममा उनले देशका रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट गरेका थिए। राज्यपालले सिक्किमका विभिन्न विकासात्मक परियोजनाहरू र सुरक्षासम्बन्धी मुद्दाहरूबारे छलफल गरे। उनले केन्द्रीय मन्त्रीलाई हालै मंगन जिल्लामा भएको प्राकृतिक प्रकोपबारेमा जानकारी गराए। यसबीच छातेन पैह्रोमा ज्यान गुमाएका सेनाका जवानहरु अनि स्थानीय प्रभावित नागरिकहरुबारे जानकारी गराए। उल्लेखनीय छ, गत केही दिनअघि मंगन जिल्लाको छातेनमा रहेको सेना शिविर परिसरमा पैह्रोले ६ जना सैनिक जवानको ज्यान लिएका थिए। उक्त घटनामा परि ज्यान गुमाउने सैनिकहरू मध्ये केहीको शव अहिलेसम्म फेला परिसकेको छैन्।










