खरसाङ: खरसाङ खण्ड अन्तर्गत दुधे नजिकको बालासन खोलामा वनभोज खेल्न अथवा खोलामा नुहाउन कसैलाई पनि नगइदिने अनुरोध सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान मणिराज डुम्जनले गरेका छन्। उनले यो बर्खाको मौसममा कुनै पनि समय खोलामा बाढी आउन सक्छ भन्दै विशेषगरी टाढा नजिकबाट कोही पनि यहाँ वनभोज खेल्न आउँछन् भने खोलाको नजिकतिर गएर वनभोज नखेलिदिने तथा खोलामा पसेर पौडी नखेलिदिने अनुरोध पनि गरेका छन्। यस सन्दर्भमा मानिसहरूलाई सतर्क गराउन गत वर्ष पनि ग्राम पञ्चायतको पक्षबाट यहाँ सूचनाहरू पटहरू लगाउने कार्य भएको जनाउँदै यस वर्ष पनि यहाँ सतर्कता अप्नाउन ग्राम पञ्चायतको तर्फबाट निगरानी राखिने जनाए। उनले दुधे क्षेत्र त्यसै पनि पर्यटकीय दृष्टिकोणले एउटा सुन्दर ठाउँ भएकोले यहाँ प्रायः वर्षभरि नै मानिसहरू यहाँ वनभोज खेल्न तथा मनोरञ्जन गर्न आउँछन्। यद्यपि यस क्षेत्रलाई साफ सुग्घर राख्न पञ्चायतका सफाई स्वयंसेवक सदस्यहरूले साफ सफाई गर्न कार्यहरू पनि निरन्तर रूपमा गरिरहेको बताए। डुम्जनले बर्खाको मौसमले गर्दा यहाँ कुनै पनि प्रकारको दुर्घटना घट्ने सम्भावनालाई मध्यनजर राखेर खोलाको नजिकमा वनभोज नखेल्ने तथा खोलामा पसेर ननुहाउने आग्रह समेत गरेका छन्। उनले वनभोज खेल्न आउनेहरूलाई खोलाभित्र पेय पदार्थ खाएर बोतलहरू नफ्याँकिदिने तथा क्षेत्रलाई मैला कुचैला नगरिदिने अनुरोध पनि गरेका छन्।