गान्तोक: वरिष्ठ नाटककार एवं सिनेकर्मी चुनिलाल घिमिरेद्वारा लिखित ‘सिक्किमेली नेपाली नाटक यात्राको सय वर्ष अनि आफ्नै चार नाटक’ पुस्तकको लोकार्पण आज एक भव्य कार्यक्रमबीच गरियो। सिक्किम अकादमीद्वारा आयोजित कार्यक्रम वरिष्ठ कथाकार पद्भश्री सानु लामाको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो। राजधानीस्थित मनन केन्द्रको मिनी थियेटरमा सम्पन्न भएको कार्यक्रममा पर्यवेक्षक डा. कृष्णराज घतानीले कार्यक्रमको पर्यवेक्षकीय समीक्षा पेश गरे। डा. घतानीले नाटक विधा आमजनजीवनसित जोड़िएको उल्लेख गर्दै मानिसको जीवनको प्रत्येक क्षण नाटकको प्लटजस्तो हुने उल्लेख गरे। कार्यक्रमको अर्को आकर्षण नेपाली नाटकको अवस्थामाथि ‘प्यानल डिस्कसन’ जसमा दार्जीलिङका सिद्धहस्त नाटककार एवं नाट्यकर्मी किरण ठकुरी, साहित्यकार रुद्र पौड़्याल, नाटककार चुनिलाल घिमिरे, नाट्यकर्मी रुपा तामाङ, एनएसडीका शोधार्थी श्रद्धा छेत्री, र प्रा. तेजमान बराइलीले नेपाली नाटकमाथिको आफ्ना अध्ययन र अनुभव साझा गरे। प्यानलिस्टहरुद्वारा राखिएका नाटकसम्बन्धी विभिन्न विषयबारे डा. कृष्णराज घतानीले पर्यवेक्षकीय रिपोर्ट साझा गरेका हुन्। कार्यक्रममा बोल्दै मुख्य अतिथि सानु लामाले कलाप्रति नेपाली युनाहरुमा आएको उदासीनताले नाट्य क्षेत्र खस्किएर गएको बताए। सिक्किम अकादमीले लिएको यस पदक्षेपले भविष्यमा बाटो देखाउन सक्ने विश्वास जताए।
यसअघि लोकार्पण कार्यक्रममा बोल्दै सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाले नाटकको महत्व लगातार घटदै जानुको पछाड़ि हामी आफै जिम्मेवार रहेको बताए। सुब्बाले नाटकमाथि ‘नो टक’ को स्थिति आइपरेको हुनाले यसमाथि वृहत चर्चाको आवश्यक्तामाथि जोड़ दिए। नाटक समाजलाई प्रतिविम्बित गर्ने सशक्त माध्यम रहेकोले यसमाथि व्यापकरुपमा चर्चा हुनुपर्ने महत्वलाई बुझ्दै लोकार्पण कार्यक्रम एवं नाटकमाथि चर्चा कार्यक्रम आयोजना गरेको अध्यक्ष सुब्बाले थप बताए। कार्यक्रमका मुख्य अतिथि लामा लगायत विशिष्ट अतिथिहरू पद्भश्री नरेन गुरुङ, नेपाली साहित्य परिषदका अद्यक्ष हरि ढुङ्गेल, डा. शोभाकान्ति थेगिम ट्रष्टका अध्यक्ष डुपछिरिङ लेप्चा, गान्तोक नगर निगमका पार्षद अशोक प्रसाद लगायत प्यानलिस्टहरुको संयुक्त बाहुलीबाट ‘सिक्किमेली नेपाली नाटक यात्राको सय वर्ष अनि आफ्नै चार नाटक’ पुस्तक लोकार्पण गरियो। मुख्य अतिथि सानु लामाले पुस्तक लोकार्पण भएको आधिकारिक घोषणा गरे। यसबीच नाटककार घिमिरेले सिक्किमेली नाटक लेखन अनि मञ्चनको गौरवशाली इतिहासको संग्रह नभएको हुँदा दस्तावेजीकरण हुनुपर्ने कुरालाई ध्यानमा राखेर पुस्तक तयार पारिएको बताए। पुस्तक सिक्किमेली नाटक यात्राको महत्वपूर्ण दस्तावेज हुने अनि आगामी संस्करणहरूमा छोडिएका कुराहरूलाई थप्दै लाने प्रतिवद्धता राखे। उल्लेख्य, डा. कृष्णराज घतानीले आज तयार पारेको पर्यवेक्षकीय रिपोर्टलाई सिक्किम अकादमीले दस्तावेजका रुपमा प्रकाशित गर्ने घोषणा गरेको छ।