खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीमा रहेको अस्पताल (प्राथमिक स्वास्थ केन्द्र) अहिले कुनै डाक्टरबिना नै सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार घैयाबारी अस्पतालमा विगत एक वर्षदेखि केवल एकजना डाक्टरको भरमा नै सञ्चालन भईरहेको थियो तर विगत १०-१५ दिनदेखि भने कुनै डाक्टरबिना नै सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ। अस्पतालमा रहेको एकजना डाक्टर पनि आफ्नो पढाईको लागि विगत १०-१५ दिनअघि गएकोले अहिले डाक्टरबिना अस्पताल सञ्चालन भईरहेको बताइएको छ। घैयाबारीकै नेताजी हाई स्कूलकी एकजना छात्रालाई उपचारको लागि अस्पताल लिएर पुग्दा डाक्टर नभएकोले सिलगढी लगिएको बताइएको छ। बुधबार घैयाबारीको नेताजी हाई स्कूलको दशौँ श्रेणीकी छात्रालाई अचानक कान दु:खेर उपचारको लागि दुईजना शिक्षकहरु नयन खाती र बिपन विश्वकर्मले लिएर पुगेका थिए। तर अस्पतालमा डाक्टर नभएकोले बिमारी छात्रालाई रिलिफको लागि कुनै दबाई पनि दिन नसकिएको र छात्रालाई तुरुन्तै उपचारको लागि सिलगढी लानु परेको जानकारी दिएका छन्। यस विषयमा शिक्षक बिपन विश्वकर्मले अस्पताल पक्षसित यस विषयमा जानकारी लिँदा घैयाबारी अस्पतालको एकजना भएको डाक्टर पनि आफ्नो पढाईको लागि १०-१५ दिन अघि नै गएको र उनको बदलीमा कुनै डाक्टर नआएको जानकारी प्राप्त भएको बताएका छन्।