सोनादा: जीटीए आईडलको सेमिफाइनल एवं फाइनलको मितिको घोषणा गरिएको छ। यस विषय जानकारी गराउँदै जीटीएको सूचना एंव संस्कृति विभागका कार्यकारी सभासद एवं सोनादा पचेङ समष्टिका सभासद अनोश थापाले एक भिडियो जारी गरेर जीटीए आईडलको अडिशन जीटीए क्षेत्रको सबै ४५ वटै समष्टिहरुमा समाप्त भएपछि आगामी २३ जूनदेखि सेमी फाइनल राउण्ड हुने भएको जानकारी गराएका छन्। उनले जीटीए आईडलको ग्राण्ड फाइनल आगामी ३ अगस्तको दिन सम्पन्न हुने भएको जानकारी गराएका छन्। कार्यकारी सभासद अनोश थापाले बताए अनुसार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा स्थानीय युवा कलाकारहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा शुरु भएको जीटीए आईडलको अडिशन जीटीएको सबै ४५ वटै समष्टिहरुमा समाप्त भएपछि आगामी २३ जूनदेखि सेमी फाइनल राउण्ड शुरु हुने भएको छ। यस सेमी फाइनल राउण्डमा प्रतियोगीहरुले दुईवटा गरेर भारतीय नेपाली संगीतको गीतहरु गाउनु पर्ने हुन्छ। उक्त सेमी फाइनल राउण्ड दुई चरणमा हुने भएको छ। पहिलो चरणमा आगामी २३ जूनमा खरसाङ क्षेत्रका १२ जना प्रतियोगीहरुले भाग लिनेछन् भने २५ जूनमा कालेबुङ क्षेत्रका १० जना प्रतियोगीहिले भाग लिनेछन्। त्यसरी नै २६ जूनमा दार्जिलिङका ७ जना प्रतियोगीहरुले भाग लिनेछन् भने ३० जूनमा मिरिकका ४ जना र गोरुबथानका ३ जना गरी ७ जनाले भाग लिनेछन्। जीटीए आईडलको सेमी फाइनलको दोस्रो चरण आगामी १ जुलाईदेखि ६ जुलाईसम्म हुने भएको छ। त्यसरी नै जीटीए आईडलको ग्राण्ड फाइनल आगामी ३ अगस्तको दिन सम्पन्न हुने भएको छ। दार्जिलिङ पहाडको युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु साथै भारतीय नेपाली संगीतलाई प्रबर्ध्दन गर्ने उद्देश्यको साथमा जीटीए आईडलको आयोजना गरिएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जानकारी दिएका छन्।