चिनियाँ दूताबासद्वारा झापामा व्यापक सहयोग

IMG-20250611-WA0052

बिर्तामोड़: नेपालका लागि चिनियाँ राजदूत छन सोङ जुन १० तारिख मंगलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी हुनु भएको छ। चिनियाँ राजदूत छन सोङले मंगलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन गर्नुभयो भने बुधबार अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहनु भएका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुंगेलले जानकारी दिए। ‘उहाँहरूले लगानीको सम्भावित क्षेत्रबारे जानकारी लिँदै स्थलगत अवलोकन गरिरहनुभएको छ’, उहाँले भन्नुभयो।
बिर्तामोड र अर्जुनधारा नगरपालिकाका १ हजार ९०० विद्यार्थीलाई चिनियाँ राजदूत छन सोङले शैक्षिक सामग्री प्रदान गर्नु भएको छ। अर्जुनधारास्थित शनिश्चरे माविका १ हजार ५०० र बिर्तामोडस्थित दुर्गा माविको चार सय विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नु भएको हो।
चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा ५० लाखको लागनमा निर्माण भएको चारकोठे दुईतले भवन निर्माण भएको भवनको राजदूत छन सोङ र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा प्रसाईँले उद्घाटन गर्नु भएको छ।
राजदूत छन सोङले शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गर्नुभयो। राजदूत छन सोङले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउँदै बिक्रम संवत २०७२ सालको भूकम्पपछि नेपालमा विभिन्न स्थानमा १० वटा विद्यालय निर्माण गरेको उल्लेख गर्नुभयो।
नगरप्रमुख प्रसाईँले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायत क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement