दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले यस वर्षदेखि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष स्वर्गीय सुवास घिसिङले जाति अनि माटोप्रति दिएको योगदानको कदर गर्दै “सुवास घिसिङ स्मृति पुरस्कार” प्रदान गरिने भएको छ। यो पुरस्कार विशेष रूपले संस्कृति, सामाजिक, राजनीतिक अनि शिक्षाको क्षेत्रमा योगदान पुर्याउदै आइरहेका नागरिकलाई दिने भएको छ। यस वर्ष “सुवास घिसिङ स्मृति पुरस्कार” सामाजिक, शैक्षिक अनि राजनितिक क्षेत्रमा योगदान पुर्याउने र सिन्कोना वृक्षारोपणको कल्याणमा विशेष योगदान पुर्याएको भन्दै कालेबुङ १२ माइल निवासी पूर्व विधायिका रेणुलिना सुब्बा जसलाई कालेबुङको आइरन लेडी भनेर पनि चिनिने गरिन्छ, उनलाई पहिलो पटक प्रदान गर्ने भएको छ। गोर्खा नेता सुवास घिसिङको पुण्यतिथिको उपलक्ष्यमा आगामी २२ जून २०२५ मा दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा यस पुरस्कार समारोह आयोजना हुने जानकारी आज जीटीए डेपुटी चेयरमेन राजेश चौहानले जानकारी दिएका छन्।
पूर्व विधायिका रेणुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने कालेबुङकी पूर्व विधायिका रेणुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने भएको छ। यस विषयमा जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले आज घाेषणा गर्दै भने, “रेणुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने जीटीएले निणर्य लिएको छ। यो सम्मान दार्जीलिङ्ग पहाडको गरिमा अनि पहाडको गौरवलाई शिखरतर्फ लैजान योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिने भएको छ।”
गत वर्ष २०२४ को भानु जयन्ती समारोहबाट जीटीएको मुख्य कार्यपाल अनित थापाले आगमी वर्षदेखि (२०२५) “सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार” गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा उनकै जन्म जयन्तीमा प्रदान गरिने घाेषणा गरेका थिए। यस घोषणालाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय महासचिव तथा विधायक निरज जिम्बाले स्वागत जनाउँदै भनेका थिए कि अनित थापाको स्वर्गीय घिसिङको स्मृतिमा प्रदान गरिने सम्मान पुरस्कारको घोषणा राजनीतिदेखि माथि उठेर गरिएको महत कार्य हो। गोरामुमो परिवार यसको स्वागत गर्दछ।
स्वर्गीय घिसिङको जन्म २२ जून १९३६ मा मिरिकको मञ्जु चिया बगानमा भएको थियो। उनको निधन २८ जनवरी २०१५ मा दिल्लीको एक अस्पतालमा भएको थियो। स्वर्गीय सुवास घिसिङको जन्म जयन्ती २२ जून समारोहमा यस पुरस्कार प्रदान गरिने राजेस चौहानले जनाएका छन्। रेणुलिना सुब्बा कालेबुङकी एक प्रमुख राजनीतिज्ञ हुन्। उनी कालेबुङ विधानसभाबाट पहिलो गोर्खा महिला विधायिका थिए। उनले अखिल भारतीय गोर्खा लिग तथा स्वतन्त्र उम्मेदवारको रूपमा विधायिका पदमा निर्वाचित भएर क्षेत्रको प्रतिनिधित्व गरेका थिए। सन् १९७७ (गोर्खा लिग) र १९८२ (स्वतन्त्र) मा विधायिका निर्वाचित भएकी उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए जसमा विद्यालयहरूको मान्यता, कलेजहरूको स्थापना र प्राथमिक स्वास्थ्य केन्द्रहरूको निर्माण जस्ता कार्यहरू पर्दछन्।
रेणुलिना सुब्बा नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गराउने अभियानमा पनि अग्रणी थिए। उनी एक सक्षम वक्ता, महिलाहरूको सशक्तिकरण र गोर्खा समुदायको हक अधिकारका लागि दृढ आवाजको रूपमा चिनिन्छन्। सिन्कोना मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कारण उनलाई “सिन।कोनाकी आइरन लेडी” भनेर पनि चिनिन्छ। कालेबुङको राजनीतिक तथा सामाजिक इतिहासमा उनको योगदानलाई आजसम्म सम्मान गरिन्छ।