गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसदेखि देशव्यापी रूपमा शुरू हुने सेवा पखवाड़ाको तयारीलाई लिएर आज भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यकारिणी बैठक सिङ्तामस्थित पार्टी कार्यालयमा प्रदेश अध्यक्ष डीबी चौहानको अध्यक्षतामा सम्पन्न भयो। आजको बैठकले १७ सेप्टेम्बरदेखि शुरू भएर २ अक्टोबर गान्धी जयन्तीसम्म चल्ने सेवा पखवाड़ा अवधि दैनिक कार्यक्रमको रूपरेखा तयार गरेर पार्टी पदाधिकारीहरूलाई आ-आफ्नो जिम्मेवारी सुम्पिइएको छ। दुई सप्ताहव्यापी सेवा कार्यक्रमको अवधि पार्टीले १७ सेप्टेम्बरदेखि विभिन्न अस्पतालहरूमा रक्तदान शिविर, क्षयरोगमाथि जागरूकता अभियान, वृक्षरोपण कार्यक्रम, पानीका मुहान साथै सार्वजनिक स्थलहरूको सरसफाई, प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि वेबिनार साथै अनाथालय, वृद्धाश्रम, अस्पतालहरू आदि स्थानहरूमा सेवा कार्यक्रमहरू सञ्चालन गर्नेछ। जसमा पार्टीका सम्पूर्ण पदाधिकारीगण, विधायकगण साथै कार्यकर्ताहरूको सक्रिय सहभागिता रहनेछ। बैठकमा प्रदेश अध्यक्ष डीबी चौहानले विभिन्न सांगठनिक मुद्दा, आगामी पञ्चायत चुनाउ तथा वर्तमानका ज्वलन्त मुद्दाहरूमाथि आफ्नो सम्बोधन राखे। उनले विशेष गरी राज्यमा भारतीय जनता पार्टी अनि एसकेएम पार्टीबीच तथाकथित गठबन्धनबारे चर्चा गर्दै यस गठबन्धनले गर्दा भाजपाको सांगठनिक विस्तारमा ठूलो धक्का लागिरहेको अनि गठबन्धनले भाजपाका कार्यकर्ता अनि भाजपालाई माया गर्ने जनतालाई कुनै फाइदा नभएर उल्टै भाजपा कार्यकर्ताहरूलाई विभिन्न प्रलोभन र दबाव दिएर आफ्नो दलमा तान्ने काम मात्र भइरहेको बताए। सत्तारूढ़ दलको यस्तो क्रियाकलापले भाजपा कार्यकर्ताहरूमा गठबन्धनलाई लिएर व्यापक असन्तुष्टि देखिएको अध्यक्ष चौहानले बताए। यसै गरी अहिले कतिपय बाहिरी तत्वहरूले सिक्किमको अस्तित्व संविधानको धारा ३७१एफ विरूद्ध बयानबाजीहरू गरिरहेको विषयमा बोल्दै त्यसलाई राष्ट्रविरोधी अनि संविधानविरोधी ठहर गरे। भारतीय जनता पार्टी सदैव देशलाई जोड्ने राजनीति गर्ने पार्टी हो र देशको एकता र अखण्डता अनि सिक्किमको अस्तित्वमाथि धक्का लाग्ने यस्ता संविधानविरोधी गतिविधिहरू सहन गर्नेछैन भन्दै भाजपा प्रदेश अध्यक्षले यसको कड़ा शब्दमा भर्त्सना जनाए। बैठकलाई सम्बोधन गर्दै विधायक डी. आर. थापाले पनि विविध समसामयिक मुद्दाहरूमाथि प्रदेश कार्यकारिणीलाई जानकारी गराएका थिए। आजको सभामा पार्टीका महामन्त्री उपाध्यक्षहरु, विधायकगहरु एन. के. सुब्बा, डी. आर. थापा, के. बी. राई, राजकुमारी थापा, फरवन्ती तामाङलगायत प्रदेश पदाधिकारीगण, कार्यकारिणी सदस्यगण, मोर्चा अध्यक्षगण, प्रवक्तागण साथै जिल्ला अध्यक्ष एवं महामन्त्रीहरूको उपस्थिति रहेको थियो।










