गेजिङ: पश्चिम सिक्किमका अधिकांश औल भेगका कृषकहरु अहिले निकै चिन्तित र खिन्न भएका छन्। खेतबारीमा मकै पाक्ने समय शुरु भएको छ तर फसल भित्र्याउने खुशीभन्दा बढी चिन्ता बढ़ेर गएको छ। केही दिनदेखि वन्यजन्तुको आतंकले कृषकहरुलाई हैरान पारेपछि समस्या खड़ा भएको छ। विशेष गरि आरिगाउँ, सल्ले, पार्बोक, केरेमेथाङ, सुम्लादेन, सम्बक आदि गाउँका कृषकहरू वन्यप्राणीले फसल भर्बाद पारेपछि हैरान भएको छ। रातदिन खेतमा पहरा दिएर पनि आफ्नो अन्न जोगाउन असमर्थ भएको गुनासो कृषकहरुको छ। बाँदरको हूलले मकै फसल सखाप पारिदिएको गुनासो गर्दै संम्बन्धित वन विभागले यसमाथि कडा पदक्षेप लिने माग गरेको छ। सरकारको वन तथा वन्यजन्तु संरक्षण ऐनअनुसार वन्यजन्तु मार्न पाइँदैन जसले गर्दा वन्यप्राणीको उपद्रव लगातार बढ़ेर हैरान बनाएको भनाइ छ। यसले गर्दा स्थानीय कृषकहरु असहाय भएका छन्। अहिले अवस्था यति भयावह बनेको छ कि बाँदरले मानिसलाई समेत आक्रमण गर्न थालेको छ। स्थानीयबासीहरूले वन विभागसँग यस समस्याको तत्काल समाधान गर्ने माग उठान गरेका छन्। विभागले बाँदर नियन्त्रणको लागि व्यवस्था गरेन भने त्यसको क्षतिपूर्ति तत्काल दिनुपर्ने माग पनि उठाएका छन्। उक्त खबर सुनेर वन विभागका अधिकारीहरूले प्रभावी पहल गर्ने वचन दिएको छ।