गान्तोक: नाम्ची जिल्ला टास्क फोर्स टिकाकरण र पीसीपीएनडीटीको एक समीक्षात्मक सभा नाम्ची जिल्लाको जिल्लापाल कार्यालयमा सम्पन्न भयो। जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल सीपी राई, सीएमओ नाम्ची डा. डीसी शर्मा लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले तोकिएको काम उचित ढंगले गरेकोमा स्वास्थ्य विभागको प्रशंसा गर्दै स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन पहल गर्न सुझाव दिए।उनले आजको बैठकका विभिन्न एजेण्डामाथि समीक्षा गरेका थिए।
बैठकमा डिएनओ डा. उर्गेन शेर्पाले १५औं वित्त आयोगबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा उनले नाम्ची जिल्लामा सञ्चालित स्वास्थ्य विभाग अन्तर्गतका विभिन्न विकास परियोजनाका बारेमा प्रकाश पारेका थिए।
यसै क्रममा डा. अन्जु राईले राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमको उदेश्य र लक्ष्यबारे विस्तृत प्रस्तुति दिएकी थिइन्। उनले जिल्ला क्षयरोग अस्पतालमा क्षयरोगका बिरामीलाई सबै उपचार र निदान नि:शुल्क उपलब्ध गराइने सुविधाका बारेमा बताइन्। उनले पोषण योजनाकोबारेमा पनि जानकारी गराइन्। यस योजना अन्तर्गत क्षयरोगीलाई उपचारको सम्पूर्ण अवधिको लागि डीबीटी मार्फत मासिक ५ सय रूपियाँ दिइनेछ। क्षयरोगीलाई उपचार गराउन सहयोग गर्ने व्यक्तिले पाठ्यक्रम पूरा गरेपछि एक हजारदेखि पाँच हजारसम्म पाउने उनले बताइन्। साथै क्षयरोगीलाई सार्वजनिक स्वास्थ्य संस्थामा सूचना दिने र रेफर गर्ने व्यक्तिलाई 5सय प्रोत्साहन भत्ता र क्षयरोगको निदान भएको सूचना र उपचार सम्पन्न भएपछि निजी चिकित्सकलाई ₹. ५ सय रूपियाँ प्रोत्साहन भत्ता दिइनेछ।










