आजकल पहाडमा सोसियल वर्कको नाममा राजनीति गर्नेहरू छन्: अनित थापा
सोनादा: खरसाङ सन्त मेरिज ग्राम सेवा समितिको तत्वावधानमा आयोजित सडक उदघाटन कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापाले पहाड क्षेत्रमा समाज सेवाको नाममा राजनीति गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मार्ग ११० देखि ग्राम सेवा समिति भवनसम्म जीप हिँड्न सक्ने नयाँ सडकको उद्घाटन गर्दै उनले समाज सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्नु पर्नेमा जोड दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले सिस्टर जेम्सको उदाहरण दिँदै भने, “सिस्टर जेम्स मलाई हरेक बिहान समाजको लागि सन्देश पठाउनु हुन्छ। केरलाबाट हाम्रो ठाउँमा आएर समाज सेवा गर्ने उहाँजस्ता व्यक्तित्वलाई हामीले कहिल्यै सम्मान गर्न सकेनौं। सिस्टरको सपना म अवश्य पूरा गर्नेछु।”
उनले पछिल्लो समय समाज सेवाको नाममा राजनीति गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै भने, “आजकल सोसियल वर्क गर्नेहरू मोबाइलमा धेरै देखिन्छन्। तर साँचो समाज सेवा हेर्नु हो भने तीनधारे, रोहिणी जस्ता ठाउँमा जानुपर्छ। सिस्टर अनि म्याडमहरूले कहिल्यै आफैलाई समाजसेवी भन्दैनन्, तर दिनरात समाजको सेवा गर्छन्।”
थापाले निर्माण भएको सडकको स्याहार–सुसारमा सबैको ध्यान जान जरुरी रहेको बताए। उनले भने, “राजनीति त आउँछ जान्छ। म कसैलाई गाली नगरी, आफ्नो काममा केन्द्रित भएर राजनीति गर्छु।’
राजनीतिक संस्कार सुधार्नका लागि आफूले लामो संघर्ष गरेको उल्लेख गर्दै थापाले भने, “अघिल्लो समय बङ्गलादेशको जस्तो स्थिति थियो। अहिले हामीले भावी पुस्ताका लागि स्वस्थ वातावरण तयार गरेका छौं।”
उनले चुनाव सकिएपछि सबैले सामान्य जीवनमा फर्कनु पर्नेमा जोड दिए। उनले अझ भने,’चुनाव आउँछ, जान्छ। जुन दिन भोट सकिन्छ, हामी फेरि सामान्य जीवनमा फर्कनुपर्छ। अहिले तयार भएको सकारात्मक परिवेशलाई निरन्तरता दिनुपर्छ, पुरानो स्थितिमा फर्कनु हुँदैन।’

कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जीप हिँड्नु सक्ने सडक राष्ट्रिय मार्ग ११० देखि सन्त मेरिजको ग्राम सेवा समिति भवनसम्म निर्माण गरिएको छ। सन्त मेरिज ग्राम सेवा समिति, खरसाङको तत्वावधानमा आयोजित उक्त सडक उद्घाटन कार्यक्रममा टुङ सेन्ट मेरिज समष्टिका सभासद नुरी शेर्पा, ग्राम पञ्चायत प्रधान सहदेव तामाङ लगायत पार्टीका प्रतिनिधिहरु अनि ग्रामवासीहरु उपस्थित रहेका थिए। उक्त रोडको उदघाटनको अवसरमा स्थानीयहरुले जीटीए प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद नुरी शेर्पाप्रति आभार प्रकट गरेका छन्।