खरसाङ: गुरूङ टुल्कु निमा होइसेर रिम्पोर्छे गुरूदेवको ८१औँ जन्मोत्सव खरसाङमा आज पालन गरिएको छ। अखिल भारतीय गुरूङ(तमु) बौद्ध सङ्गठन, खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न गरिएको छ। उक्त जन्मोत्सव समारोहमा लामा पुरोहितहरूद्वारा गुरूदेवको सुस्वास्थ्य अनि दीर्घायु कामना गर्दै पूजा अर्चनाहरू गरे भने गुरूदेवलाई जन्म दिनको शुभकामना दिन अनि उनीबाट आर्शिवाद लिन धेरै मात्रामा मानिसहरू उपस्थित भएका थिए। त्यसबाहेक समारोहमा जीटीएका मुख्य कार्यपाल अनित थापा, जीटीएको कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा लगायत खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ एवम् अन्य विशिष्ट व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

यसै अवसरमा गुरूदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न स्थानीय विभिन्न धार्मिक एवम् आध्यात्मिक सङ्घ-संस्थाका सदस्यहरू उपस्थित रहेर भजन-कीर्तन एवम् प्रार्थनाहरू गरे। समारोहबारे जानकारी दिँदै अखिल भारतीय गुरूङ(तमु) बौद्ध सङ्गठन, खरसाङ महकुमा समितिका सचिव सुदीप गुरूङले गत वर्षहरूमा झैँ यस वर्ष पनि गुरूदेवको जन्मजयन्ती खुबै उत्साह पूर्वक अनि परम्परागत रूपमा पालन गरिएको जनाउँदै यस उत्सवलाई सफल पार्न सल्लाह, सहयोग र उपस्थिति दिने सबैप्रति समितिको पक्षबाट आभार व्यक्त गरेका छन्।

तिनले विभिन्न धार्मिक एवम् आध्यात्मिक सङ्घ-संस्थाका सदस्य-प्रतिनिधिहरू तथा लामा पुरोहितहरू, आनीहरूले आफ्नो उपस्थिति दिँदै गुरूदेवको सुस्वास्थ्य र दीर्घायुको निम्ति प्रार्थना र भजनहरू गरिदिएकोमा उनीहरू प्रति विशेष आभार व्यक्त गरे।