म्यूनिख: पोर्तुगल फूटबल टीमले प्रतिष्ठित यूएफा नेशन्स लीग कपको खिताब जित्यो। आइतवार अबेर रातिसम्म चलेको फाइनलमा पोर्तुगलले स्पेनलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। फाइनलमा एक्स्ट्रा टाइमको खेल समाप्त हुँदासम्म स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि पेनल्टी शूटआउटमा पोर्तुगलले आफ्नो पाँचैवटा शट्लाई नेटमा हाल्यो। यसको विपरीत स्पेनको टीमले एउटा शट् मिस गऱ्यो। अल्वारो मोराटाको स्पट किकलाई पोर्तुगलका गोलकीपर डिएगो कोस्टाले रोके। उनले त्यही शेभले पोर्तुगललाई च्याम्पियन बनायो। म्याचपछि पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोलाई रोईरहेको देखियो। पोर्तुगलको यो टुर्नामेण्टमा दोस्रो खिताब हो। यसअघि टीमले २०१८-१९-मा टुर्नामेण्टको पहिलो सीजनमा पनि खिताब जितेको थियो।
म्यूनिखको आलियाञ्ज एरेनामा खेलिएको फाइनलमा पोर्तुगलको शुरुवात चाहिँ राम्रो रहेन। म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनले शुरुमै बढ़त हासिल गऱ्यो। मार्टिन जुबीमेण्डीले स्पेनलाई २१औं मिनटमा बढ़त दिलाए तर टीमले त्यसलाई अधिक समयसम्म कायम राख्न सकेन। पोर्तुगलको निम्ति नूनो मेण्डिसले २६औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। पोर्तुगलमाथि लगातार दबाउ दिने स्पेनले मध्यान्तरको ठीक अघि फेरि बढ़त हासिल गऱ्यो। स्टार स्ट्राईकर मिकेल ओयारजबालले ४५औं मिनटमा गोल गरे। चरम दबाउबीच पोर्तुगललाई बचाउन दोस्रो हाफको खेलमा रोनाल्डो स्वयं अघि आए। उनले ६१औं मिनटमा गोल गरी पोर्तुगललाई २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित समयको खेलमा थप गोल हुन सकेन। त्यसपछि ३० मिनटको एक्स्ट्रा टाइममा पनि कुनै गोल नहुँदा म्याच पेनल्टी शूटआउटमा पुग्यो। पेनल्टी शूटआउटमा स्पेनका अल्वारो मोराटाको शट् शेभ भएपछि रुबेन नेवेसले आफ्नो टीमको निम्ति पाँचौं शट्लाई नेटमा हालेर पोर्तुगललाई च्याम्पियन बनाए। टुर्नामेण्टको गत संस्करणमा स्पेनले क्रोएशियालाई पेनल्टी शूटआउटमा ५-४-ले नै पराजित गरी खिताब जितेको थियो तर यसपाली उनीहरूलाई भाग्यले साथ दिएन।