पाकिम: आसमलिङजेस्थित सिकोनको प्रेक्षागृहमा आज अनन्त कविता संगम सिजन -२ भव्यरुपमा सम्पन्न भयो। पद्भश्री तुलाराम उप्रेतीको स्मृतिमा आयोजित कार्यक्रममा शिक्षा विभागीय मन्त्री राजु बस्नेत मुख्य अतिथिकारूपमा उपस्थित थिए। ग्रामीण विकास विभागीय मन्त्री अरूण उप्रेती, पूर्व मन्त्री केएन उप्रेती, पूर्व विधायक एम प्रसाद शर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा विद्यालय र महाविद्यालयस्तरीय कविता प्रतियोगिता आयोजन गरिएको थियो। निर्णायक मण्डलीहरूलमा पत्रकार प्रवीण खालिङ, कञ्चनजङगा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा. सुचन प्रधान र शिक्षिका मनिका शर्मा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री राजु बस्नेतले तुलाराम उप्रेती पद्भश्री उपाधिद्वारा सम्मानित हुनु सिक्किमका लागि गौरावको विषय बताए। उनले पहाडी क्षेत्रमा कृषि उत्पादन एउटा चुनौतिको विषय रहेको हुनाले समतलमाजस्तो पहाडमा सहजै खेती उत्पादन गर्न नसकिने बताए। हाल सिक्किममा कम संख्यामा मानिसहरूले खेतीमा चासो लिएर उत्पादन गरिरहेको हुनाले अधिक जमीन बाँझो रहेको बताए। जस्तोसुकै चुनौती आए तापनि कृषि क्षेत्रलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसङ्ग फेर्दै राज्यमा नशालु पदार्थको बढ़दो प्रभाव एक चुनौतिको विषय बन्ने गएको र यसको समाधानको निम्ति सबैले सामुहिक जिम्मेवारी वहन गर्नुपर्ने सुझाउ राखे। शिक्षा मन्त्री बस्नेतले दजैविक खेतीको विस्तारमा शिक्षित युवाहरुको सहभागिता जरुरी हुने उल्लेख पनि गरे। यसक्रममा कार्यक्रमका विशिष्ठ अतिथि मन्त्री उप्रेतीले पद्भश्री उप्रेतीलाई सदेव सम्झनामा राखिरहने हो भने जैविक खेतीलाई अप्नाउनु पर्ने सुझाउ दिए। कार्यक्रम मात्र गरेर उनले देखेको सपना पुरा नहुने र सबैले जैविक खेतीमा लागेर उनले देखेको सपना पुरा गर्नुपर्ने आह्वान गरे। मन्त्री उप्रेतीले विद्यार्थीहरूलाई प्रतिभासंगै शिक्षालाई पनि प्राथमिकता दिएर भविष्य उज्वल बनाउने दिशामा काम गर्नुपर्ने सुझाउ दिए। पद्भश्री तुलाराम उप्रेतीले देखाएको बाटोमा अघि बढन युवाहररु गम्भीर बन्ने विचार राख्दै सिक्किमलाई जैविक राज्यको नामले देश-विदेशमा चिनाउन प्रत्येकको भागीदारी आवश्यक बन्ने जिकिर गरे। राज्य बाहिरबाट साग-सब्जी लगायत अन्य खाद्य वस्तुहरू आयात गर्नुपर्ने अवस्थामाथि चिन्ता व्यक्त गर्दै उनले जैविक उत्पादनको मूल्य अधिक भएको कारण स्थानीयहरूले राज्य बाहिरबाट ल्याइएको सस्तो वस्तुमा भर पर्नुपर्ने हुनाले यसमाथि सन्तुलन बनाउन आवश्यक रहेको बताए। उल्लेखनीय छ, गत वर्ष २०२३ मा स्वार्गीय तुलाराम उप्रेतीलाई भारत सरकारले पद्भश्री उपाधिले सम्मान जनाएको थियो। उनको जैविक खेतिप्रतिको योगदानलाई सम्मान गर्दै उक्त उपाधि प्रदान गरिएको हो। पद्भश्री उप्रेतीले आफ्नो जीवनभरि नै जैविक खेतीलाई प्राथमिकता दिँदै योगदान गरेका थिए। आजको कार्यक्रममा पद्भश्री तुलाराम उप्रेतीको जीवनी आधारित एक नाटक पनि मञ्चन गरिएको थियो।