कालचिनी। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको संस्थापक अध्यक्ष तथा बौद्ध धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको ७१औँ जन्मदिनको अवसर पारेर मङ्गलाबारदेखि मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ गुम्बामा गुरु छेतार छोग्पा (प्राणदान) पूजाको शुभारम्भ भएको थियो।
सो पुनीत अवसरमा स्वयं बौद्ध धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको उपस्थिति रहेको थियो भने मङ्गलाबार घ्याप्सी पूजा पश्चात साँझ ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको मुखारविन्दबाट प्रवचन सम्पन्न भएको थियो।
आज दोस्रो दिनको कार्यक्रममा विहान १० बजीदेखि छेतार छोग्पा पूजा सम्पन्न भएपछि ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको जन्मदिनको केक काटेर वितरण गरिएको थियो।
आज उक्त अवसरमा डुवर्सका विभिन्न ठाउँहरुबाट प्रायः ३ हजार भन्दा अधिक श्रद्धालु उपासक उपासिकाहरुको बाक्लो उपस्थिति रहेको थियो भने जन्मदिवसको शुभाकामना स्वरुप ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोलाई श्रद्धालुहरुले उपहार प्रदान गरेको थियो।
रेम्बोर्छेको करकमलबाट वाङ आशिर्वाद सम्पन्न भईरहेकोबीच आज विभिन्न शाखाहरुबाट आएको श्रद्धालुहरुले बौद्ध भजन र कविता वाचन पनि सम्पन्न भएको थियो।
वाङ आशिर्वाद पश्चात पेमा छ्योई फेलिङ गुम्बा कमिटी तथा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको ८ नम्बर शाखाको पक्षबाट भण्डारा वितरण गरिएको थियो।
कार्यक्रममा कालचिनी विधायक विशाल लामा लगायत मेचपाड़ा चियाबारीको सुपरिन्टेन्डेन्ट बिपिन गुप्ता सहित सहायक प्रबन्धकगण, औ अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको महासचिव अर्जुन स्याङबो लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।
पूजा सम्बन्धमा आयोजक लामा सङ्घको पक्षबाट अध्यक्ष लामागुरु बिजय लामा र लामागुरु उमेश गुरुङले ख्येनछेन रेम्बोर्छेको जन्मदिनको अवसरमा सम्पूर्ण प्राणीमात्रको कल्याणार्थ यो घ्याप्सी पूजा लगायत गुरु छेतार छोग्पा पूजाको आयोजना सफलरुपमा सम्पन्न भएकोमा सम्पूर्ण श्रद्धालुजनलाई धन्यवाद ज्ञापन गरेका छन।