सिक्किममा आईएलपी लागु गर्नुपर्ने माग

IMG_20220915_231552.jpg

गान्तोक: सिक्किममा आईएलपी लागु गर्नुपर्ने माग गर्दै आईएलपी सिक्किमको मात्र नभएर देशकै सुरक्षाको निम्ति पनि आवश्यक रहेको हाम्रो सिक्किम पार्टी (एचएसपी) का कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले बताएका छन्। गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा आयोजित धरनामा सहभागी बन्दै एचएसपी कार्यकारी अध्यक्ष भोटियाले यस आसयको जानकारी दिए। उनले आईएलपी सिक्किमेहरूको सुरक्षाका साथै अनुप्रवेश, लागु औषधको दुरूपयोग, बेरोजगारी, आपराधिक गतिविधि सबैको समाधान रहेको दाबी गरे। उनले भने, सिक्किममा ड्रग एब्यूज पूर्वोत्तरका अन्य राज्यहरूको तुलनामा धेर छ। सिक्किममा जति पनि आपराधिक गतिविधिहरू भइरहेका छन् त्यसमा अधिकांश बाहिरका मानिसहरू संलग्न छन्। फ्याक्ट्री र कम्पनीहरूमा मनमानी छ र कर्मचारीहरूको सुरक्षा छैन। उनले उक्त सबै समस्याहरूको एक मात्र समाधान आईएलपी रहेको बताए।
भोटियाले पूर्वोत्तरका चारवटा राज्यमा आईएलपी लागू रहेको बताउॅंदै भने, सिक्किम तीनवटा अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्य हो। छेवैमा बांग्लादेश छ। यस कारण आईएलपी सिक्किमको निम्ति अत्यन्त महत्वपूर्ण छ। यदि सिक्किमको सुरक्षा भए देशको पनि सुरक्षा हुनेछ। केन्द्रिय गृह मन्त्री अमित शाहले मणिपुरलाई ठूलो उपहारको रूपमा आईएलपी प्रदान गर्न सक्छन् भने सिक्किमलाई किन प्रदान गर्न सक्दैनन् भनी उनले प्रश्न गरे। सिक्किममा पनि उपहारको रूपमा आईएलपी लागू गरियोस् भनी उनी माग गरे।
एचएसपी कार्यकारी अध्यक्ष भोटियाले सिक्किमको जनसांख्यिकी परिवर्तन गर्ने प्रयास भइरहेको गम्भीर आरोप लगाए। उनले २०१९ को चुनाउमा सिक्किममा १७ प्रतिशत अधिक भोट भएको छ जुन देशकै सर्वाधिक रहेको दाबी गरे। उनले एकातिर सिक्किमको फर्टिलिटी रेट देशकै सबैभन्दा कम छ भने अर्कोतिर यसरी अप्रत्याशित रूपमा भोट प्रतिशत बढिरहेकाले फेक भोटरहरू सिक्किममा प्रवेश गरिसकेको स्पष्ट भएको बताए। उनले नेताहरू भोट ब्याङ्क, सत्ता र धन कमाउनमा तल्लिन रहेको आरोप लगाउॅंदै सिक्किमको सुरक्षा अब आईएलपीले मात्र गर्न सक्ने बताए।
उनले भोलि शुक्रवार सम्पन्न हुने विधानसभामा आईएलपीको प्रस्ताव पारित गरेर केन्द्रमा पठाइयोस् भन्ने सुझाउ राखे। यसै गरी, उनले एचएसपीको तर्फबाट आज राज्यपाललाई राज्यमा आईएलपी लागू गर्नु पर्ने मागमा एउटा ज्ञापन बुझाउने जानकारी दिए। यस अतिरिक्त, आगामी १६ अक्टोबरको दिन जन-संसद आयोजन गरेर आईएलपी लागू गर्नु पर्ने माग सम्बन्धी प्रस्ताव पारित गरेर दिल्ली जान पनि उनले बताए। यसरी नै, एचएसपीले सिक्किमको भ्रमण गरेर एक-दुई लाख हस्ताक्षर उठाउने र गृह मन्त्रालयमा बुझाउने योजना रहेको उनले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement