खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतको शिवखोला निवासी प्रकाश राईको नयाँ घरको उदघाटन गरिएको छ। उक्त घर जीटीए प्रमुख कार्यपाल अनित थापाको सहयोगमा निर्माण गरिएको छ। स्थानीय शिवखोला एक गाउँ निवासी प्रकाश राईको घर एकदमै जीर्णावस्थामा रहेको थियो अनि उनको उक्त जीर्णावस्थामा पुगेको घरलाई नयाँ बनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पहलमा अनित थापाको सहयोगमा निर्माण गरिएको छ। उक्त नयाँ घरको उदघाटन शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानको बाहुलीबाट रिबन काटेर गरिएको छ।

उक्त नयाँ घरको उदघाटन कार्यक्रममा सभासद एवं तीनधारे महानदी समष्टिको पर्यवेक्षक प्रमाण रसाईली, क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्य अनिरा तामाङ, पञ्चायत सदस्यहरु, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति केन्द्रीय उप सभापति निरेन लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आफ्नो जीर्णावस्थामा पुगेको घर पूर्ण रुपमा नयाँ घर निर्माण गरिदिलकोमा प्रकाश राईले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

उक्त नयाँ घरको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामाले शिवखोला निवासी प्रकाश राईको घर एकदमै जीर्णावस्थामा पुगेको थियो र उनको घर निर्माणको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट पहल गरेपछि पार्टी अध्यक्ष अनित थापाको सहयोगमा नयाँ घर निर्माण गर्न सफल बनेको र आज उदघाटन गरिएको पनि बताएका छन्।