नरबहादुर भण्डारी कलेजमा वार्षिक उत्सव उत्साहपूर्वक सम्पन्न

IMG-20250607-WA0237

गान्तोक: तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेजमा वार्षिक उत्सव “इन्स्पायर २०२५” अत्यन्तै उत्साहजनक र उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो। यस अवसरमा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए। मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो मन्तव्य राख्ने क्रममा सिक्किमको शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक विश्वविद्यालय स्थापना गर्ने मुख्यमन्त्रीको दृष्टिकोणलाई उल्लेख गर्दै नरबहादुर भण्डारी कलेज जस्तो अग्रणी संस्थाले बहुआयामिक अनुसन्धानमा आधारित शिक्षालाई विशेष गरी जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने कुरामा बल दिए। राष्ट्रिय शिक्षा नीति-२०२० अन्तर्गत तादोङ कलेजले निकट भविष्यमा स्वायत्त संस्था बन्ने सम्भावना रहेको भन्दै शिक्षा विभाग यसका लागि सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए। यसबीच मन्त्री बस्नेतले प्राचार्य र विद्यार्थी प्रतिनिधिबाट उठाइएका सबै मागहरूलाई गम्भीरतापूर्वक लिने आश्वासन दिए। विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा सीप विकास गर्न र आजको जटिल वैश्विक परिवेशमा सङ्कट व्यवस्थापन कौशल अपनाउन आग्रह गरे। राज्यको आर्थिक अवस्था सबल भए तापनि कार्यान्वयन र कार्यसंस्कृतिमा अझ सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यस दिशामा योजनाबद्ध ढङ्गले अघि बढिरहेको जानकारी दिए। मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा सरकारका उच्च, प्राविधिक, चिकित्सा शिक्षा, शिक्षा विभागका सचिव छेवाङ ग्याछो बोटिया र सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले विशिष्ट अतिथि थिए। कार्यक्रमको प्रारम्भमा कलेजका प्राचार्य डा. डी. पुरोहितले सम्पूर्ण सहभागीहरूलाई स्वागत जनाउँदै कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। उनले शैक्षिक उपलब्धिहरू, संरचनागत प्रगति तथा विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक मागहरू पनि शिक्षा मन्त्रीसमक्ष पेश गरे। विद्यार्थी प्रतिनिध परिषदका अध्यक्ष टासीछिरिङ भोटियाले कलेज र विद्यार्थीहरूको हितमा आधारित विभिन्न मागहरू प्रस्तुत गरे। विशिष्ट अतिथि योगेन तामाङले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई जानकारीमूलक बन्न, कलेजका मञ्चहरूलाई आत्मविकासको अवसरका रूपमा प्रयोग गर्न र मानसिक स्वास्थ्यप्रति सजग रहन प्रेरित गरे। उनलेले कडा परिश्रमको विकल्प नरहेको उल्लेख गर्दै विद्यार्थीहरूको समस्याहरू मुख्यमन्त्री समक्ष पुर्यारयाउने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षामा आमूल सुधार गर्ने उद्देश्यलाई मुख्यमन्त्रीले उच्च प्राथमिकता दिएका छन् भन्ने कुरा पनि स्पष्ट पारे। कार्यक्रमको अर्को आकर्षक पक्ष थियो सम्मान समारोह, जसमा विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधिहरूका निर्णायकहरूलाई सम्मान गरियो। त्यसैगरी, महोत्सवका प्रायोजकहरूलाई पनि कृतज्ञता व्यक्त गर्दै सम्मानित गरियो। यसपछि विभिन्न प्रतियोगिताका विजेता र उपविजेताहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गरियो।

कार्यक्रमको सांस्कृतिक प्रस्तुतीहरूमा “भोइस अफ एनबीबीजीसी” विजेताको गीत प्रस्तुती, “पोयट आइडलl” द्वारा कविता वाचन साथै विद्यार्थीहरूको नृत्य र हिपहप प्रस्तुतीहरू विशेष आकर्षण बने। कार्यक्रमको समापनमा इन्स्पायर २०२५ लाई सफल र अविस्मरणीय बनाउने सबै अतिथि, आयोजकहरू, प्रायोजक, शिक्षक-शिक्षिका प्रशासनिक एकाइका कर्मचारी, र विद्यार्थीहरूप्रति कल्याण विभागका डीन डा. सोनाम छिरिङ भोटियाले धन्यवाद गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement