राज्यका युवाहरूमा कला र क्षमता भरिपूर्ण छः मन्त्री टीटी भोटिया
गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागद्वारा गत २ मईदेखि सोरेङ जिल्लाबाट शुरु गरिएको सिक्किम डिजाइन सप्ताहको समापन आज राजधानीस्थित मनन केन्द्रमा भयो। कार्यक्रममा वाणिज्य तथा उद्योग साथै पर्यटन विभागीय मन्त्री छिरिङ टी. भोटिया प्रमुख अतिथिकारुपमा उपस्थित थिए। साथमा मन्त्रीगण सोनाम लामा, अरुण उप्रेती, साम्डुप लेप्चा साथै विधायकहरु उपस्थित थिए। वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले कार्यक्रमको औंचित्यबारे अवगत गराइन। आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि मन्त्री भोटियाले राज्यको ६ वटा जिल्लामा कार्यक्रम सफलतापूर्वक आयोजन भएको दाबी गर्दै यो कार्यक्रम सरकारद्वारा शुरु गरिएको सिक्किम इन्सपायर्सको एउटा अंग रहेको जानकारी गराए। सरकारको एक परिवार एक उद्यामीको योजनालाई साकार बनाउन यो कार्यक्रमले धेरै टेवा पुऱ्याउने उल्लेख गरे। कार्यक्रमले सिक्किमको विभिन्न उद्योग क्षेत्रमा लागिपरेका युवाहरुलाई मञ्च प्रदान गरेको बताउँदै उनीहरुले आफ्नो क्षमता विकासमा उपलव्धि हासिल गरेको दाबी गरे। सिक्किमका युवाहरुमा योग्यता साथै क्षमता देखेर भविष्यमा जीविकोपार्जन गर्नसक्ने कुरामा सरकार विश्वस्त रहेको उल्लेख पनि पर्यटन मन्त्रीले कार्यक्रममा गरे। यस कार्यक्रमअवधि गान्तोकस्थित रिज पार्कमा शुरु गरिएको क्राफ्ट बजारलाई यथावत रुपमा संचालन गरेर स्थानीय उद्यामीहरुलाई बिक्री वितरणमा सहयोग गर्ने विभागले सोंच बनाएको जानकारी गराए। कार्यक्रममा युवा उद्यामीहरुले आफ्नो अनुभव साझा गरेका थिए। नाम्चीकी पोज बुटिककी डिजाइनर कविता तामाङ साथै गान्तोकका डिजाइनर मन्की सी मन्कीले डिजाइन गरिएका वेशभुषा पहिरिएर फेशन शोको पनि आयोजन गरिएको थियो। जसमा स्थानीय मोडलहरुका साथमा असमकी अभिनेत्री तथा मोडल रेवती छेत्री साथै भारतकी प्रसिद्ध मोडल क्यारोल ग्रासियसले पनि सहभागिता जनाएकी थिइन्।











