सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा टाउन कमिटीद्वारा प्रतिनिधिमण्डललाई समेटेर एक विशेष सांगठनिक सभा सोनादाको भालुटार सार्वजनिक भवनमा सम्पन्न गरिएको छ।
पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार उक्त सभा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन खर्साङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले गरेका थिए। सभामा हालको राजनैतिक परिस्थिति र गोर्खा जातिको दीर्घकालीन मुद्दालाई लिएर अध्यक्ष रुस्तम छेत्री र सचिव भुपेन गुरुङले गम्भीर विचार तथा विश्लेषण प्रस्तुत गरेका थिए।
रुस्तम छेत्रीले संगठन विस्तार, पार्टीको भावी रणनीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि सबै प्रतिनिधिहरूलाई सचेत र सक्रिय रहन आग्रह गर्दै भने, “लामो संघर्षपछि भारत सरकार द्वारा गोर्खा जातिको निम्ति सुनवाइको आवाज सुनिने समय आएको छ। यो उपलब्धिको मूल कारण गोरामुमो अध्यक्ष मन घिसिङ, पार्टी शीर्ष नेतृत्व, केन्द्रीय समिति र सम्पूर्ण कार्यकर्ताहरूको निरन्तर संघर्ष हो। उनले सन् २००७ मा भएको घटनाको स्मरण गर्दै त्यस्ता त्रासदी दोहोरिन नदिन अब एकताको खाँचो छ भन्दै भने, “अध्यक्ष मन घिसिङले गोर्खा जातिको पक्षमा दिल्लीमै ठूलो राजनैतिक बोझ बिसाएर फर्किएको वक्तव्यले संकेत गर्छ कि अब गोर्खा जातिको भविष्यमा नयाँ उज्यालो आउँदैछ।”

सभामा अध्यक्ष रुस्तम छेत्रीले वर्तमान राजनैतिक भ्रमको वातावरणबाट सचेत रहन आह्वान गर्दै भने, “अब पनि हामी चुक्यौं भने फेरि गोर्खा जातिको भविष्य कालो बादलले ढाक्नेछ। तर गोरामुमोले त्यो हुन दिने छैन हामी अब चट्टान जस्तो भएर उभिनेछौँ। संगठन, गाउँ, बस्ती र चियाबारीसम्म हामी जनचेतना फैलाउँदै अगाडि बढ्नेछौं।”
सभामा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमले संगठनलाई अझ सुदृढ गर्दै भावी यात्रालाई लक्ष्य केन्द्रित बनाएको स्पष्ट सन्देश दिएको छ।