गान्तोक: जिल्लापाल अनुपा ताम्लिङले आज नामथाङबासीको समस्या र गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले फिल्ड भिजिट गरिन्। जिल्लापालको नेतृत्वमा गएको टोलीमा महकुमा अधिकारी निम पिन्छो भोटिया, उपमहकुमा अधिकारी प्रविण गौतम पनि सामेल थिए। निरीक्षण टोलीले जनताबाट गुनासो आएको विभिन्न स्थानको भ्रमण गरेको थियो। निरीक्षण टोलीले ओम ल्याण्डमार्कको भ्रमण गर्दै पार्कको अधुरो निर्माण कार्यबारे पनि जायजा लिएको थियो। उक्त परियोजना निर्माणको क्रममा अधूरो अवस्थामा छोडिएको थियो। परियोजना निर्माणको क्रममा कृषकहरूको जमीनमा क्षति पुऱ्याउनको साथै जल निकासीको समस्या उत्पन्न भएको थियो। छेवैको गाउँबाट आएको पानीको कारण स्थानीय एक परिवारले घर खाली गर्न बाध्य भएको निरीक्षण टोलीलाई जानकारी दिइयो। यस प्रकारको समस्या भोग्न परेको असुविधा साथै क्षतिबारे विभागले शीघ्र हस्तक्षेप गर्नुपर्ने स्थानीयहरूले निरीक्षण टोलीसमक्ष माग गरेका छन्। यस अवसरमा टोलीले तुरूङ माध्यमिक विद्यालयको भ्रमण गर्दै विद्यालयका सञ्चालन समिति लगायत शिक्षकवर्गसँग अन्तर्क्रिया गरेका थिए। यस क्रममा विद्यालय सञ्चालन समितिले अव्यवस्थितरूपमा नालीको स्थिति, विद्यालयको गेट साथै विद्यालय परिसरमा भएको क्षतिबारे गुनासो गरे। यस अवसरमा टोलीले उक्त विद्यालयका विद्यार्थीहरूसँग पनि अन्तर्क्रिया गरे।