जोरथाङ: मानव उत्थान सेवा समिति सिक्किमले राज्यको ६ जिल्लाको नवतहसीलहरूमा तहसील प्रभारी सन्त महात्मागणको विशेष उपस्थितिबीच गंगा दशहरा पर्व पालन गऱ्यो। यस क्रममा दक्षिण सिक्किमको जोरथाङ तहसीलकी तहसील प्रभारी महात्मा अलकनन्दा बाईजीको विशेष सक्रियतामा जोरथाङ एमजी मार्गमा गंगा दशहरा पालन गरियो। कार्यक्रमको मुख्य उद्देश्य र गंगा माता धर्तीमा अवतरण हुनुको मुख्य कारणमाथि प्रकाश पारेकी थिइन। कार्यक्रममा जोरथाङ नगर पार्षद साम्तेन मोक्तान विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। यसबीच मानव उत्थान सेवा समितिको कार्यबारे जानकारी दिइयो। यसले आउने भावी पीढ़ीलाई पाठ सिकाउने उल्लेख गरे। साथै यस्ता प्रत्येक पर्वले मानव समाजलाई ईश्वर भक्तिप्रति प्रेरणा दिने मन्तव्य राखे। तहसील प्रभारी महात्मा अलकनन्दा बाईजी र विशिष्ट अतिथि साम्तेन मोक्तानको बाहुलीबाट गंगाजल मिश्रित पेयजल, जूस शर्बत पनि वितरण गरेका थिए। उक्त दिन गंगा दशहरा र विश्व पर्यावरण दिवस एकै दिन परेको हुनाले विश्व पर्यावरण दिवसको उपलक्ष्यमा समितिले सिक्किम राज्यको धेरैजस्ता ठाउँहरूमा विभिन्न प्रजातिका बिरुवारोपन गरेका थिए।