छातेनमा फँसेका सबै पर्यटकहरुको पाकिम हवाइ अड्डामा सुरक्षित अवतरण

IMG-20250606-WA0299

गान्तोक: भारी वर्षाले यातायात बाधित भएपछि गत केही दिनदेखि मंगन जिल्लाका विभिन्न स्थानमा फँसेका पर्यटक साथै स्थानीय पैह्रो प्रभावितहरूलाई आज पाकिम हवाइ अड्डामा ल्याइयो। यसरी सेनाको हेलिकप्टरको माध्यमद्वारा फँसेका पर्यटकहरुलाई सुरक्षितसंग ल्याइने कार्य जारी छ।
आज कूल ८० जनालाई पाकिम हवाइ अड्डामा ल्याइएको थियो। जसमा ६३ जना पर्यटक र १७ जना स्थानीयहरू सामेल रहेका थिए। छातेनबाट पाकिम हवाइ अड्डासम्म पर्यटक साथै स्थानीयवासीलाई ल्याउन चारवटा हेलिकप्टरको प्रयोग गरिएका थिए। पाकिम हवाइ अड्डामा अवतरण गरेपछि उनीहरूलाई विभिन्न गन्तव्य स्थलहरुमा पुऱ्याउनको निम्ति सरकारले एसएनटी बसको व्यवस्था गरेको थियो। हवाइ अड्डामा अवतर गरेपछि सबैको स्वास्थ्य जाँच गरियो। यसका लागि स्वास्थ्य एवं परिवार कल्याण विभागले चिकित्सक टोलीलाई तयार पारेको थियो। उल्लेखनीय छ, गत केही दिनदेखि अविरल वर्षाले उत्तर जिल्लाको विभिन्न भागमा पैह्रो गएपछि सडक मार्ग विच्छेद बन्न पुगेको थियो। जसको कारण मंगन जिल्लाअन्तर्गत विभिन्न मुख्य पर्यटन स्थलहरु घुम्न गएका पर्यटकहरू फँसेका थिए। प्रतिकूल मौसमको कारण उनीहरूलाई शीघ्र गान्तोक ल्याउन प्रशासनलाई गाह्रो परेको थियो। मौसम सफा भएपछि सेनाको हेलिकप्टरको माध्यमद्वारा गान्तोक ल्याउने क्रम जारी छ। यसअन्तर्गत आज अन्तिम चरणमा ८० जनालाई छातेनबाट सुरक्षित ल्याइयो। अब पर्यटकहरू नरहेको जानकारी उत्तर जिल्ला प्रशासनले गराएको छ। राज्य सरकारको पहलमा मंगन जिल्लामा फँसेका सबै पर्यटकहरूलाई बस्ने, खाने, औषधि लगायत आवश्यक सामग्री निःशुल्क उपलब्ध गराइएको थियो। राज्य सरकार र केन्द्र सरकारको संयुक्त पहलमा पर्यटकहरूलाई सकूशल उद्धार गर्न सफल भएको भनाइ छ। जसमा सेनाका जवान, एनडीआरएफ, सींमा सडक संगठन लगायत स्थानीय संघ संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement