सोनादा: सोनादा डिग्री कलेजका अन्तिम सत्र तथा छैटौं सत्रका विद्यार्थीहरूलाई बिदाई दिँदै कलेजको प्रेक्षागृहमा स्नातक दिवस एवम् विदाई समारोह डा. प्रमोद छेत्रीको अध्यक्षतामा सम्पन्न भयो।अन्तिम सत्रका विद्यार्थीहरूलाई अब आगामी परीक्षाको निम्ति शुभकामना दिँदै भविष्यमा अझ उच्च शिक्षा हाँसिल गर्ने एवम् प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी गर्ने सुझावहरू दिँदै डा. प्रमोद छेत्री, उत्तमा सुन्दास, प्रा. पेञ्चुला भोटिया, प्रा. रतिका सुब्बा, प्रा. विशाल थापा आदिले समारोहलाई सम्बोधन गरेका थिए। यस अवसरमा विद्यार्थीहरूलाई कलेजको तर्फबाट प्रमाण पत्र पनि प्रदान गरिएको थियो। अङ्ग्रेजी विभागीय प्रमुख प्रा. रतिका सुब्बाद्वारा सञ्चालित उक्त स्नातक दिवस कार्यक्रमकै शुभ अवसरमा प्रा. रतिका सुब्बाद्वारा नै सम्पादित अङ्ग्रेजी विभागीय पत्रिका “प्रोस्पोरियस” को पनि विमोचन गरिएको थियो। उक्त विभागीय पत्रिकाले विद्यार्थीहरूको सिर्जनात्मक लेखनलाई प्रोत्साहन दिने उद्देश्य राखिएको कुरो प्राध्यापक सुब्बाले बताइन्। स्नातक दिवस पालनपछि दोस्रो र चौथो सत्रका विद्यार्थीहरुको आयोजनामा छैटौं सत्रका विद्यार्थीहरुको लागि भव्य विदाई समारोह पनि सम्पन्न गरेका थिए। यस अवसरमा विभिन्न गीत, नृत्यहरु प्रस्तुत गर्नका साथै विदाई केक पनि काटिएको थियो। आफ्नो तीन वर्षको अमूल्य समय स्नातक डिग्रीको लागि सोनादा डिग्री कलेजमा व्यतित गरेर आफूहरुले धेरै जीवन उपयोगी ज्ञानहरु पनि प्राप्त गर्न सकेकोमा छैटौं सत्रका विद्यार्थीहरूले कलेजप्रति आभार प्रकट गरेका थिए।