खरसाङ: विश्व पर्यावरण दिवसको अवसरमा तीनधारेको सन्त जोहन चर्चको पास्टोरेट कमिटीको पहलमा यस अन्तर्गत रहेको पुरुष झुण्ड, महिला झुण्ड तथा जवानहरु मिलेर तीनधारेको बीस माईलस्थित पर्यटन स्थल स्मृति वनको सर-सफाई तथा यहाँ रहेको चौकी बेञ्चहरूमा रंग पचेरा गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै यस वरिपरि अघि नै रोपिएको रूखको बिरूवाहरूलाई छोपेको झार जंगलहरु फाड़फूड गर्नको साथै जम्मा २५ वटा जति नयाँ रूखको बिरूवाहरू पनि रोप्ने कार्य गरिएको छ। कार्यक्रममा परमेश्वरलाई महिमा दिन युवा झुण्डले केही भजनहरु पनि प्रस्तुत गरेका थिए। त्यसपछि एल्डर मसीह प्रकाश मोक्तानको प्रार्थनापछि विश्व पर्यावरण दिवसको कार्यक्रमको आरम्भ गरियो। पास्टोरेट कमिटीकी सचिवा रूथरानी राईको अगुवाईमा यस क्षेत्र वरिपरि महिला झुण्डले सर सफाई गरे। पुरूष झुण्डको सचिव सुवास बान्तवाको अगुवाईमा पुरूष झुण्डले वृक्षहरु रोपन गरे अनि एल्डर मसीह प्रकाश मोक्तानको अगुवाईमा युवा झुण्डले रंग पचेरा साथै सर सफाईको कार्य गरे।

यस कार्यक्रमको थिम बाइबलको वचन व्यवस्था २३ को १४ अनुसार ‘तिमीहरूको छाउनी साफ सुध्रा रहोस् नत्र परमेश्वर तिमीहरूबाट जाइहाल्नु हुनेछ’ रहेको थियो। अन्त्यमा पास्टोरेट कमिटीको तर्फबाट मार्थारानी राईले यो कार्यक्रमको सफलताको निम्ति परमेश्वर लगायत उपस्थित सबैलाई धन्यवाद दिईन साथै रूखको बिरूवा उपलब्ध गरी सहयोग गरेकोमा क्षेत्रीय सभासद नवराज क्षेत्रीलाई धन्यवाद ज्ञापन गरिन्।