गान्तोक: आज विश्व पर्यावरण दिवसको अवसरमा सिक्किम सरकारको वन विभाग, रानीपुल टेरिटोरियल रेञ्जको तत्वावधानमा पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रअन्तर्गत नान्दोक क्षेत्रको रेजे खासमलमा विभिन्न प्रजातिका २ हजारभन्दा अधिक विरुवा लगाइयो। यो कार्यक्रम सिक्किम सरकारको महत्वाकांक्षी परियोजना मेरो रुख मेरो सन्ततिअन्तर्गत आयोजना गरिएको थियो।
विश्व पर्यावरण दिवस २०२५को थीम बिट प्लास्टिक पलुशन बारे जनचेतना जगाउँदै आयोजना गरिएको यो विरुवा रोपन कार्यक्रम स्थानीय औषधी कारखाना सन फार्मा लिमिटेड, नान्दोक जुनियर हाइ स्कूल र स्टेपिङ स्टोन एकाडेमीसितको सहकार्यमा आयोजना गरिएको थियो भने वन विभागका अधिकारी अनि कर्मचारीहरू, सन फार्मा कम्पनीका प्रतिनधिहरू, विद्यार्थीहरू, पञ्चायत सदस्यहरू, एमजी नरेगाका कर्मचारीहरू साथै स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो। यसै अवसरमा क्षेत्रका २३ जना शिशुका अभिभावकले पनि आ-आफ्नो नानीको नाममा विरुवा लगाए।
आज विरुवा रोपन साथै सन फार्मा लिमिटेडद्वारा स्थानीयहरूको लागि निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो जसबाट धेरैजना गाउँलेले सुविधा लिए।
रानीपुल टेरिटोरियल रेञ्जकी रेञ्ज अफिसर प्रणिता परियारकाअनुसार विरुवा लगाउनको निम्ति यस क्षेत्रमा पछिल्ला करिब १५ दिन अघि नै विभागले खाल्डोहरू खनेर तयारी गरेको थियो।
आजको विरुवा रोपन कार्यक्रममा सहभागिता जनाउने सबै प्रति आभार व्यक्त गर्दै लगाइएका विरुवाहरूको हेरचाहको निम्ति स्थानीय पञ्चायतको सहयोग लिइएको अनि समय समयमा विभागका कर्मचारीहरूले पनि भ्रमण गर्ने उनले बताइन्।