गान्तोक: सिलगढ़ीमा संदिग्ध अवस्थामा घुमिरहेका तीन सिक्किमे बालिकालाई उद्धार गरेर सिक्किम फर्काइएको छ। यो उद्धार कार्य मानव तस्करी विरुद्ध काम गर्ने स्थानीय एउटा सामाजिक सङ्गठन ग्लोबल ह्यूमन राइट्स पीश फाउण्डेशन र सिक्किम पुलिसको एन्टी ह्यूमन ट्राफिकिङ यूनिट, गान्तोकको सहकार्यमा भएको हो।
घट्नाक्रमअनुसार सिलगढ़ीको प्रधान नगरका वासिन्दाले आफ्नो क्षेत्रमा १८-१९ वर्षका तीन बालिका संदिग्ध अवस्थामा घुमिरहेको देखेका थिए। ती बालिकाहरू स्थानीय नभएर बाहिर कतैबाट आएको तथा मानव तस्करीको शिकार भएको शङ्का गर्दै उनीहरूले सामाजिक सङ्गठन ग्लोबल ह्यूमन राइट्स पीश फाउण्डेशनलाई यसबारे जानकारी गराएका थिए। पछि उक्त सङ्गठनले बालिकाहरूलाई आफ्नो अधीनमा लिएर सोधिखोजी गर्दा सिक्किमबाट आएको बुझेपछि सिक्किम पुलिसको एन्टी ह्यूमन ट्राफिकिङ यूनिट, गान्तोकलाई यस बारे सुचित गरेको थियो।
एन्टी ह्यूमन ट्राफिकिङ यूनिट, गान्तोकले बालिकाहरूको ठाउँ ठेगाना पत्तो लगाएपछि र बालिकाहरू सिक्किमकै हुन् भन्ने पुष्टि भएपछि उनीहरूलाई गान्तोक लिएर आएको हो। क्रमैले १७, १८ र १९ वर्षका बालिकाहरूलाई हाल लुम्सेस्थित पूनर्वास केन्द्रमा राखेर उपचार साथै परामर्श दिने काम भइरहेको छ भने अर्कोतिर पुलिसले बालिकाहरू कसरी सिलगढ़ी पुगे तथा कतै उनीहरू मानव तस्करीको शिकार त भएका होइनन् भन्ने दिशामा जाँच गरिरहेको छ।









