राज्यस्तरीय विश्व पर्यावरण दिवस पालन

IMG-20250605-WA0318

राज्यपाल र मुख्यमन्त्रीले रोपे विभिन्न प्रजातिका बिरूवा

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकास माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व पर्यावरण दिवसको अवसरमा विभिन्न प्रजातिका बिरूवा रोपे। कार्यक्रमको आयोजन सरकारको वन एवं पर्यावरण विभागले गरेको हो। यस अवसरमा देउरालीस्थित नेश्नल इन्सटीट्य़ुट अफ् टिब्याटोलोजी पार्क परिसरमा सम्पन्न कार्यक्रममा राज्यपाल, मुख्यमन्त्री लगायत मन्त्रीगण, विधायकगण र अधिकारीहरूले बिरुवा लगाए। प्रधानमन्त्री नरेन्द्र मोदीको भीजनमा शुरु भएको एक पेड माँ के नामपर अभियानअन्तर्गत बिरुवा रोपेका थिए। यसबीच मुख्यमन्त्री तामाङले आफ्नी आमालाई साक्षी राख्दै मालागिरीका बिरूवा रोपे। यसरी नै राज्यपालले पनि बिरूवा रोपे। पछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले राज्य सरकारले शुरू गरेको मेरो रूख मेरो सन्ततिको प्रशंसा विश्वले नै गरिरहेको बताए। देशको अन्य राज्यहरूमा वन जंगल घटिरहेको अवस्थामा सिक्किमले वन तथा हरियाली कार्यक्रममा प्रमुखता दिँदै आएको उल्लेख मुख्यमन्त्रीले गरे।

यस अवसरमा राज्य प्रदुशन नियन्त्रण बोर्डले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई समेटेर निबन्ध प्रतियोगिता आयोजन गरेको थियो। जसमा कूल १८ वटा विद्यालयबाट ५४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। जसमा किताम सरकारी वरिष्ठ माध्यमिक विद्यालयकी छात्रा एञ्जल तामाङ प्रथम भएकी छन् भने सोही विद्यालयकी छात्रा नेहा विश्वकर्मा दोस्रो र पीएमश्री सरकारी निम्न माध्यमिक विद्यालयकी छात्रा प्रतिक्षा गुरूङ तेस्रो भएकी छन्। विजेता विद्यार्थीहरुलाई प्रमाण पत्रसहित पुरस्कार प्रदान गरियो। यस अवसरमा किङजोङ छोडेन लेप्चालाई पनि सम्मान जनाइयो। उनले १९७० को सर्वेक्षणअनुसार आफ्नो अधिनमा गाभिएको जमीन पुनः वन विभागलाई फर्काइदिएपछि सम्मानित गरेको हो। यसरी नै सिङतामको पीएमश्री सरकारी विद्यालयले पनि विभिन्न कार्यक्रम सहित विश्व पर्यावरण दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। खालिङले एक पेड माँ के नाम अभियानअन्तर्गत आफ्नो आमालाई समर्पित गर्दै विद्यालय परिसरमा बिरूवा रोपेका थिए। विद्यार्थीहरूलाई सम्बोधन गर्दै खालिङले विद्यार्थीहरूलाई आमा-बाबाको सपना पूरा गर्न मेहनत गरेर अध्ययन गर्ने आग्रह गरे। प्लास्टिकको अधिक प्रयोगविरुद्ध यस वर्षको थिम बिट प्लास्टिक पोल्युषण थियो। मानिसहरुले प्लास्टिकको प्रयोगमा कमि ल्याए पर्यावरणलाई धेरै लाभ पुग्ने उल्लेख कालिङले गरे। विद्यार्थीहरूले सिङताम र रम्फूमा सञ्चालित कारखाना परिसरमा बिरूवा लगाउँदा त्यसबाट लाभ पुग्ने बताए।

सोही प्रकारले सोरेङ जिल्लाको जुरेली डाँडा र खासमल पनि विश्व पर्यावरण दिवसको अवसरमा व्यापक मात्रामा बिरूवा रोपिए। वन, पर्यावरण र माटो संरक्षण विभागको पहलमा आयोजित कार्यक्रममा क्षेत्र विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा मुख्य अतिथिकारूपमा उपस्थित थिए। अध्यक्ष शेर्पाले बिरुवा लगाएर अन्यलाई पनि पर्यारणमुखी कार्यमा सक्रिय बन्ने आग्रह गरे। सोही प्रकारले दक्षिण जिल्लाको चिसोपानीमा सञ्चालित हिमालय ग्रेस एकाडमीले बीट प्लास्टिक पोल्युसन थिममा विश्व पर्यावरण दिवस पालन गऱ्यो। यस अवसरमा यू-केजीदेखि चौथो कक्षासम्मका विद्यार्थीहरूले बिरुवा रोपेका थिए। यसबीच चिसोपानी फाटकदेखि सीसीसीटी कलेजसम्म सचेतना ऱ्याली निकालियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement