गेजिङ: गेजिङ जिल्लाको विभिन्न स्थानमा विश्व पर्यावरण दिवस उत्साह र हरियाली संकल्पका साथ पालन गरियो। संयुक्त राष्ट्रसंघको पहलमा सन् १९७२ देखि प्रारम्भ गरिएको पर्यावरण दिवसले पर्यावरण संरक्षण र सुधारमा जनचेतना फैलाउने उद्देश्य राखेर काम गर्दै आएको छ। विश्व पर्यावरण दिवसको थिम बिट प्लास्टिक पोल्युशन रहेको छ। यस सन्देशलाई आत्मसात गर्दै गेजिङ जिल्लाका विभिन्न स्थानहरूमा बिरुवारोपन साथै सरसफाइ, गोष्ठी र सचेतना कार्यक्रमहरू सम्पन्न गरियो। “एक वृक्ष आमाको नाममा” अन्तर्गत आज हि-याङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयको तयारीमा बिरुवा रोपिए। हियाङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित बिरुवारोपनमा विद्यालयका विद्.यार्थीहरु र शिक्षकहरुले सक्रियतापूर्वक बिरुवा लगाएका थिए। बिरुवाको नाम, किसिम र उपयोगबारे जानकारी दिँदै आमासँगको आत्मीयता र पर्यावरणप्रतिको दायित्वलाई कार्यक्रमले प्रमुखता दिएको थियो। यसबाहेक सामुहिक हरियाली अभियानअन्तर्गत गेजिङ जिल्लाको टाशीडिङ, देन्ताम, लिङ्चोम, बर्मेक, योक्सम, टाशीडिङलगायतका क्षेत्रहरूमा बिरुवा रोपिए। कार्यक्रममा सरकारी कार्यालय, विभिन्न संघसंस्था र स्थानीय नागरिकहरुले बिरुवा लगाएका थिए। जसमा सडक किनार, विद्यालय प्राँगन, सरकारी कार्यालय परिसर आदिमा बिरुवा लगाइएको थियो। मानेबुङ-देन्ताम क्षेत्रमा राज्य सरकारको “मेरो रुख, मेरो सन्तति” अभियानसँगै “एक वृक्ष आमाको नाममा” भन्ने नारालाई समेट्दै क्षेत्रका विधायक सुदेश कुमार सुब्बाको अगुवाइमा वाटरगार्डेनमा हजारभन्दा बढी बिरुवा रोपेका थिए। कार्बन उत्सर्जन न्यूनीकरण, पुनः प्रयोगको प्रवर्द्धन, नवीकरणीय ऊर्जा उपयोग लगायतका पक्षमा पनि जनसहभागिता आवश्यक छ भन्ने सन्देश दिँदै विश्व वातावरण दिवस केवल एक दिन मात्र नभएर लगातार रुपमा सचेतना गराउने आग्रह विधायक सुब्बाले गरे।