खरसाङको गाडीधुरामा जीटीए स्तरीय पर्यावरण दिवस कार्यक्रम सम्पन्न

IMG-20250605-WA0181

वर्षमा केवल एक दिन कार्यक्रम गरेर पर्यावरण स्वच्छ हुँदैन तर पर्यावरणको सुरक्षा गर्न सबैले वर्षभरि नै मिलेर कार्य गर्नुपर्छ: अनित थापा

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि खरसाङ खण्ड पञ्चायत समिति तथा स्वच्छ भारत मिशन(ग्रामीण) को संयुक्त आयोजनामा आज खरसाङको गाडीधुरामा जीटीए स्तरीय विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा यहाँ स्वच्छ पर्यावरण सम्बन्धी जागरूक गराउँदै एउटा ऱ्याली निकालियो। उक्त ऱ्यालीले सम्पूर्ण गाडीधुरा क्षेत्रको परिभ्रमण गरेपछि यहाँको सार्वजनिक भवनमा आएर विशेष कार्यक्रम गरियो। कार्यक्रममा मुख्य अतिथिको रुपमा जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा दार्जीलिङ जिल्ला शासक प्रिति गोयल, जीटीएका मुख्य सचिव सुदेन छिरिङ भूटिया लगायत जीटीएका सभासदहरू, पञ्चायत समितिका अध्यक्षहरू, खरसाङ महकुमा अधिकारी, विभिन्न खण्डका अधिकारीहरू, पञ्चायत प्रधानहरू, उप प्रधानहरू, विभागीय अधिकारीहरू उपस्थित रहेका थिए। तरूण गुरूङले सञ्चालन गरेको समारोहमा स्वागत सम्बोधन जीटीएको कार्यकारी निर्देशिका सुनिता प्रधानले राखिन्।

यसै अवसरमा दार्जीलिङ अनि कालेबुङ जिल्लाका केही ग्राम पञ्चायतहरू जसले स्वच्छताको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ती ग्राम पञ्चायतहरूलाई सम्मान गरियो। त्यहरी नै पर्यावरणको थीमलाई लिएर राखिएको विद्यालय स्तरीय बस अनि चित्र बनाऊ प्रतियोगिताका प्रथम, दोस्रो अनि तेस्रो हुने विद्यालयहरुलाई पनि पारितोषिक वितरण गरियो। उसरी नै कार्यक्रममा स्वच्छ भारत मिशन अन्तर्गत दार्जीलिङ अनि कालेबुङ जिल्लाका विभिन्न खण्डहरूलाई ग्राम पञ्चायतभित्रका मैला कुचैलाहरू लैजाने गाडीहरू पनि कार्यक्रमका मुख्य अतिथि एवम् विशिष्ट अतिथिहरूको बाहुलीबाट वितरण गरियो। ती गाडीहरूलाई मुख्य अतिथि जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट हरियो झण्डा देखाएर प्रस्थान गरियो। यसै अवसरमा वेस्ट म्यानेजमेन्ट पोर्टल रमाईलो खरसाङ पोर्टलको पनि उद्घाटन गरियो। त्यसरी नै यहाँको सार्वजनिक भवन परिसरमा उपस्थित अतिथिहरूको बाहुलीबाट रूखका बिरूवाहरू पनि रोपियो। यस कार्य अन्तर्गत प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पनि बिरुवा रोपनको कार्य गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अनित थापाले वर्षमा केवल एक दिन कार्यक्रम गरेर पर्यावरण स्वच्छ नहुने बताउँदै पर्यावरणको सुरक्षा गर्न सबैले वर्षभरि नै मिलेर कार्य गर्नुपर्ने बताए।

उनले पहाडमा पञ्चायत व्यवस्था आएकोले नै आज प्रत्येक ग्रामीण क्षेत्रका मानिसहरूलाई सुविधा भइरहेको औ तिनीहरूले सरकारी सहुलियतहरू प्राप्त गरिरहेको जनाए। थापाले सबै क्षेत्रका पञ्चायत प्रधान अनि उप प्रधान तथा पञ्चायत सदस्यहरूले गरिरहेको कार्यको पनि प्रशंसा गरे। दार्जीलिङ जिल्लाकी जिल्लापाल प्रिति गोयलले पनि पर्यावरणलाई सफा र स्वच्छ राख्न सबैको दायित्व रहेको उल्लेख गर्दै विश्व पर्यावरण दिवसको सबैलाई शुभकामना दिइन्। कार्यक्रमलाई खरसाङ पञ्चायत समिति अध्यक्ष अनु प्रधानले पनि सम्बोधन गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement