गान्तोक: उत्तरपूर्वी क्षेत्रको पर्यटन विकासको निम्ति छलफल गर्न केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा आज उत्तरपूर्वी क्षेत्रस्तरीय पर्यटन कार्यदलको उच्चस्तरीय बैठक सम्पन्न भयो। उक्त बैठकमा मेघालय, त्रिपुरा, असम, अरुणाचल प्रदेश र सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन अनि वाणिज्य एवं उद्योग विभागीय मन्त्री टीटी भोटिया लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। बैठकमा पर्यटन उद्योगसम्बन्धी गतिविधि बढाउन उत्तरपूर्वी क्षेत्रको पर्यटन विस्तारलाई अघि ल्याउने विषयमा छलफल गरियो। मेघालयका मुख्यमन्त्रीले दिगो पर्यटन विकास, पूर्वाधार र उत्तरपूर्वी क्षेत्रको सांस्कृतिक र प्राकृतिक सम्पदा विस्तारबारे जानकारी गराए। बैठकमा विशेष गरेर सातवटा प्रमुख विषयमाथि छलपल गरियो। जसमा उत्तरपूर्वी राज्यहरूमा विश्वस्तरीय गन्तव्य सिर्जना गर्ने, निजी क्षेत्रमा लगानी र क्षेत्रको सहभागिता, क्षेत्रीय सम्पर्क, सरोकारवालाहरूबीच समन्वय लगायत अन्य विषयलाई प्रमुखता दिएको थियो। केन्द्रीय मन्त्रीद्वारा राखिएको प्रस्तावलाई मन्त्री टीटी भोटियाले स्वागत जनाउँदै उत्तरपूर्वी राज्यलाई केन्द्रले प्राथमिकता दिएकोमा खुसी प्रकट गरे। उनले ग्रामीण पर्यटन, अन्तर्राष्ट्रिय सीमा पर्यटन, पर्यटन विस्तारको सहयोगिता र क्षेत्रीय सम्पर्कलाई समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिए। बैठकमा उत्तरपूर्वी क्षेत्रलाई पर्यटकहरूको एक गन्तव्यकोरूपमा स्थापित गर्न केन्द्र सरकारले काम गरिरहेको र यस विषयमा सबै राज्यहरूले सहमति जनाएको अवगत गराए।