मंगन: कृषि विज्ञान केन्द्रको पहलमा आज लिङचोम तिङदा ग्राम पञ्चायत यूनिटमा विकसित कृषि संकल्प अभियानको छैटौ दिन विभिन्न कार्यक्रम आयोजन गरियो। यस कार्यक्रममा क्षेत्र विधायक थिन्ले छिरिङ भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित थिए। मंगन जिल्लामा निरन्तर भइरहेको वर्षाले विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याए तापनि कृषक साथै अधिकारीहरूको समन्वयमा अभियान सफलतापूर्वक सम्पन्न गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक भोटियाले अनुसन्धान र प्रयोगबीचको खाडललाई कम गर्न विकसित कृषि संकल्प अभियानले एउटा मञ्च प्रदान गरेको बताए। उनले किसान समुदायलाई सहयोग गर्न सरकार सदैव तयार र प्रतिबद्ध रहेको बताए। यस अवसरमा कृषकहरूलाई चाहिने उपकरण प्रदान गरियो। विधायक भोटियाले कृषि क्षेत्रमा कुनै प्रकारको समस्या आए कृषि विशेषज्ञहरूसँग समन्वय गर्नुपर्ने बताए। यस क्रममा वरिष्ठ वैज्ञानिक दिनेश बस्नेतले कृषि उत्पादन बढाउन र किसानहरुको आयस्रोतलाई अझ मजबुत बनाउनको निम्ति राष्ट्रव्यापी खरिफ अभियानबारे प्रकास पारे। उनले खरिफ बाली र माटो स्वास्थ्य व्यवस्थापनका लागि नयाँ प्रविधिबारेमा जानकारी गराए।