पाकिम: पाकिम जिल्लाको पाचे सामसिङ ग्राम पञ्चायत यूनिटअन्तर्गत फिरफिरे वार्डमा निरन्तर भइरहेको वर्षाले घरहरू र गाईको गोठलाई क्षति पुऱ्याएको छ। यस घटनाको सूचना पाउनसाथ क्षयक्षतिको जायजा लिन सम्वन्धित अधिकारीहरू घटनास्थलमा पुगेर जायजा लिए। निरीक्षणको उद्देश्य प्राकृतिक प्रकोपबाट भएको क्षयक्षतिबारे जानकारी लिन र राहत कार्यलाई अघि बढ़ाउनु रहेको थियो। पाकिम जिल्लाका महकुमा अधिकारी डाकमान सुब्बाको नेतृत्वमा गएको टोलीमा डीपीओ टीआर छेत्री, सहनिर्देशक किरण छेत्रीलगात अन्य विभागीय अधिकारीहरु सामेल थिए। निरीक्षणको क्रममा कञ्चन प्रधानको घरलाई पूर्णरूपमा क्षति पुगेको जानकारी हासिल गरेको छ। यसरी नै अरूणा सुब्बाको घऱ, गाईको गोठ, ग्रीन हाउस र खेती नष्ट भएका छन्। पूर्ण कुमारी गुरूङको घर ध्वस्त भएको छ भने बिरभोज गुरूङको गाई गोठलाई क्षति पुऱ्याएको छ। महकुमा अधिकारी डाकमान सुब्बाले भत्किएका घरहरुको मरम्मति तत्कालै गरिदिने आश्वासन दिए। उनले स्थानीय अधिकारीहरूसँगको समन्वयमा, प्रशासन सतर्क रहने र प्रभावित परिवारहरूलाई सबै आवश्यक सामग्री समयमै प्रदान गरिने जानकारी गराए। यस अवसरमा महकुमा अधिकारीले तत्काल राहतको निम्ति प्रभावित परिवारलाई आर्थिक सहयोग पनि प्रदान गरेका छन्।