कालेबुङ: कालेबुङ जिल्लाको रोंगो सिन्कोना बगान, दलगाउँ विभागमा पर्ने ४५ धुरा करिबन १५० घर-परिवार मिलेर बनेको एउटा यस्तो गाउँ हो जुन गाउँलाई विकासको दृष्टिकोणबाट कालापानी गाउँ भन्दा कुनै फरक पर्दैन।
भारतले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको बेला अथवा देश स्वतन्त्र भएको ७५ वर्ष पार गरिसकेको समयमा, त्यही देशको एउटा गाउँ विकासबाट कोशौं टाढा छ। कसैले डिजिटल इन्डियासँग हरेक गाँउलाई जोडे, कसैले स्विजरल्यान्ड बनाए, कसैले विकासको मूल फुटाए, तर कुनै कुराले पनि यो गाउँ चिन्न सकेन। यहाँका गाउँबासी भारत देशमै बस्छन् तर यही देशको बुनियादि सुविधादेखि यो गाउँ आजसम्म वञ्चित छ। डिजिटल ईन्डियाले जोड्न नसकेको स्विजरल्याण्डको बाटोले नटेकेको विकासको मूल फुट्न नसकेको एउटा यस्तो गाउँ, जहाँ मानिसहरू राशन थाप्न पुरै दिन माया मार्न बाध्य छन्। बिहान पुगेर पनि बेलुकीसम्म रूङ्दा पनि काम बन्दैन, रित्तो हात घर फर्कनुपर्छ। बर्खा झरीमा बिजोग भएर दिनभरि पालो कुर्नुपर्छ।
यो तस्वीरले उक्त कुरा बताउँछ। यहाँ त्रिपाल टाँगेर मानिसहरू राशन वितरण गर्न बसेका छन् र गाउँका मानिसहरू राशन थाप्न पालो पर्खिरहेका छन्। त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता छ किनभने यस गाउँमा सञ्चार (फोन)-को नेटवर्क छैन। त्यसैले जहाँ जहाँ अलिकति नेटवर्क भेट्छ, त्यहाँ त्यहाँ त्रिपाल टांगेर वितरकहरू बस्छन्। त्यति गर्दा पनि नेटवर्क सुस्त हुन्छ र एकजना उपभोक्तालाई राशन प्रदान गर्न लामो समय लाग्छ। यहाँका मानिसहरू यस्ता बुनियादि कुराबाट वञ्चित छन्। फोन गर्नुपऱ्यो भने डाँडा-काँडा नेटवर्क कता लाग्छ भनेर खोज्दै हिडनुपर्छ। अहिलेसम्म त्यस्तै अवस्था छ। अनलाइन क्लासबाट नानीहरू वञ्चित छन्। आपतकालीन अवस्थामा फोन गर्नुपऱ्यो भने पनि उस्तै समस्या हुन्छ। स्थानीय जनताले सम्बन्धित निकायसमक्ष समस्या नराखेका पनि होइन, तर कतैबाट सही रूपमा सुनवाइ भएको छैन। यो कुरा सरकारको निम्ति ठूलो कुरा पटक्कै होइन। सरकारको निम्ति एउटा यो एउटा सानु समस्या हो, सरकारले चाह्यो भने दुई दिनमा यो समस्या सामाधान हुन सक्छ तर खै आजसम्म कति सरकार आए, गए तर समस्या कहिले गएन। गाउँबासीको निम्ति यस्ता कतिपय समस्या गाडे घाउ बनेर बसेको छ।
उक्त तस्वीर आज ०३-०६-२०२५ को राशन वितरणको हो। बर्खाको बेला एकतिर नेटवर्क चल्दैन र अर्कोतिर दर्कने पानीले मानिसहरूले जुन समस्या भोग्नुपऱ्यो, त्यो अवर्णनीय छ।