गान्तोक: राज्यपाल ओमप्रकाश माथुर आज दुई दिवसीय भ्रमणको निम्ति सोरेङ पुगेका छन्। यसक्रममा राज्यपाललाई जोरथाङमा भव्य स्वागत गरियो। यसबीच जूम निर्वाचन क्षेत्रका विधायक मदन सिन्चुरी, सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदी, पुलिस अधिक्षक नकुल प्रधानलगायत अन्य अन्य वरिष्ठ अधिकारीहरूले स्वागत जनाए। सोही प्रकारले पिपलेस्थित आइआरबीले राज्यपाललाई गार्ड अफ अर्नर दिए। यस अवसरमा राज्यपालले सोरेङ जिल्लामा सञ्चालित विकास योजनाबारे समीक्षा गरे। उनले सोरेङ जिल्लाका विभिन्न विभागका प्रमुखहरूलाई लिएर परियोजना र नीति कार्यान्वयनमाथि छलफल गरे। विशेष गरेर राज्यका जनताको निम्ति सरकारद्वारा शुरू गरिएका कल्याणकारी योजनाबारे जानकारी पनि लिए। राज्यपालको पहिलो जिल्ला भ्रमणले शासन र प्रशासनिक एकाइहरूबीचको समन्वयप्रति राज्य सरकारको प्रतिबद्धतालाई जोड दिइने उल्लेख गरिएको छ।