गान्तोक: सिक्किम सरकारको वन एवं पर्यावण विभागीय मन्त्री पिञ्छो नामग्याल लेप्चाले आज राज्यपाल ओमप्रकाश माथुरसँग भेट गरे। यस अवसरमा उनले राज्यपाललाई आगामी ५ जूनको दिन पालन गरिने विश्व पर्यावरण दिवसको अवसरमा मुख्य अतिथिकारूपमा आमन्त्रित गरे। आगामी ५ जूनको दिन विश्व पर्यावरण दिवस देउरालीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलजीमा आयोजना गरिने भएको छ। यस अवसरमा मन्त्री लेप्चाले राज्यपालसँग पर्यावरण संरक्षणबारे जनजागरुकता र दीर्गमियादी विकासमाथि पनि छलफल गरे। राज्यपालले मन्त्री लेप्चाको निम्तोलाई स्वीकार्दै कार्यक्रम सफलताको निम्ति अग्रीम बधाई साथै शुभकामना दिएका छन्। भेटको क्रममा मन्त्री लेप्चासँग वन विभागका सचिव डा. प्रदीप कुमार पनि उपस्थित थिए।