दार्जिलिंङ: आज नेपाली साहित्य सम्मेलनको सुधपा सभागृहमा अभ्युदय साहित्य प्रकाशन दार्जिलिङको आयोजनामा मधुसुदन हरिविष्टद्वारा लिखित पृष्ठभूमि र केही समीक्षा कृतिको लोकार्पणसँगै स्रष्टा मधुसुदन हरि बिष्टलाई सम्मानित गरियो। उक्त कार्यक्रम सर्जक तथा आध्यात्मिक चिन्तक शम्भु सुब्बाको अध्यक्षता, कालेबुङद्वारा आमन्त्रित विवेक केशर पाण्डेको प्रमुख आतिथ्य, नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साथै भाषा परामर्श समिति साहित्य अकाडेमी सदस्य प्रेम प्रधान, नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा चन्द्रकुमार राई, नाटककार अभिनय कलाकार मोहन बिष्ट, स्रष्टा मधुसुदन विष्ट, गोर्खा दुःख निवारक सम्मेलन अध्यक्ष प्रवीण जिम्बा साथै अन्य अतिथि वर्गको विशिष्ट अतिथ्यमा सम्पन्न गरियो।
अतिथिहरूको आसन ग्रहणपछि दीप प्रज्वलन सँगै सरस्वती बन्दना गायिका सृजना डुम्जनबाट प्रस्तुत गरिएपछि आयोजक समितिको पक्षमा सागर प्रधानले समितिबारे विस्तृत रूपमा परिचय गराउँदै कार्यक्रम बारे जानकारी गराउँदै स्वागत सम्बोधन प्रस्तुत गरे।
सर्जक साथै आध्यात्मिक चिन्तक किरण स्याङदेनद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वरश्री सृष्टि प्रधानले मूल्य गीत प्रस्तुत गरे भने अभ्युदय साहित्य प्रकाशनको विशेष उद्देश्यबारे विस्तृत रूपमा बुद्ध पाख्रिनले बताए। यसपछि मधुसुदन हरिविष्टको परिचयलाई रोहनराज गुरुङले प्रस्तुत गरेपछि मधुसुदन विष्टकृत पृष्ठभूमि र केही समीक्षा कृतिको लोकार्पण उपस्थित अतिथिहरूको बाहुलीबाट गरियो। कृति लोकार्पणको घोषणा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष डा जीवन नामदुङद्वारा घोषणा गरियो। यसपछि कृतिकारले आफ्नो मन्तव्य प्रस्तुत गरेपछि उपस्थित अतिथिहरूको बाहुलीबाट कृतिकार तथा सम्मानित स्रष्टा मधुसुदन बिष्टलाई क्रमैले शिर शोभा, दोसल्ला ओढाएर, स्मृति चिन्ह प्रदान गरियो। यसपछि सबिता संकल्पद्वारा अभिनन्दन पत्र पठनपछि अतिथिको बाहुलीबाट प्रदान गरियो भने यसै कार्यक्रममा नाटक निर्देशक अभिनय कलाकार मोहन बिष्टलाई पनि अतिथिको बाहुलीबाट सम्मान प्रदान गरियो।

कार्यक्रमलाई थप मनोरञ्जक तुल्याउँदै भास्कर योन्जन अनिश मोक्तानद्वारा भजनहरु गरियो। कार्यक्रमलाई सम्बोधनमा राख्दै उपस्थित अतिथि डाक्टर जीवन नामदुमद्वारा कार्यक्रमलाई सम्बोधनमा राखेपछि डाक्टर महेश दाहालले पृष्ठभूमि र केही समीक्षा पुस्तकबारे समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरे भने प्रमुख अतिथि विवेक केशर पाण्डेद्वारा वक्तव्य प्रस्तुत गरेपछि कार्यक्रम अध्यक्ष शम्भु सुब्भाले अध्यक्षीय सम्बोधन प्रस्तुत गरे।