नयाँ दिल्ली: युवा पेस बलर मयंक यादव आफ्नो ढाड़को पुरानो समस्याबाट मुक्ति पाउन जसप्रीत बुमराहको पदचिन्ह पहिल्याउन तयार छन्। आफ्नो ढाड़को सर्जरी गराउन मयंक न्यूजील्याण्ड जान तयार छन्। सर्जरी न्यूजील्याण्डको क्राइस्टचर्च स्थित प्रसिद्ध अर्थोपेडिक स्पाइन सर्जन डा. रोवन शाउटेनद्वारा गरिनेछ। डा. शाउटेनले २०२३-मा जसप्रीत बुमराह र प्रसिद्ध कृष्णाको सर्जरी गर्नको साथै अष्ट्रेलियाई पेस बलर जेसन बेहेरनडर्फ र जेम्स पेटिसनको पनि उपचार गरेका थिए। गत वर्ष शाउटेन र सर्जन ग्राहम ईंग्लिशले अष्ट्रेलियाई अलराउण्डर क्यामरन ग्रीनको पनि ढाड़को सर्जरी गरेका थिए। त्यस समय उनलाई स्ट्रेस फ्र्याक्चर भएको थियो। मयंकलाई ढाड़को समस्याले बारम्बार सताएको छ अनि उनी अहिले स्थायी समाधानको निम्ति बुमराहले झैं सर्जरी गराउनेछन्। विशेषज्ञहरूले मयंकलाई यस कदमले फाइदा हुने बताएका छन् कारण यसले पेस बलरको रूपमा उनको करियरलाई अघि बढ़ाउनेछ। सर्जरीपछि मयंक रिह्याबिलिटेशन र रिकवरी प्रक्रियाको निम्ति २२-२५ दिन न्यूजील्याण्डमै बस्नेछन्। उल्लेखनीय छ, मयंकले अक्टोबर २०२४-मा बंग्लादेशविरुद्ध ३ वटा टी२० म्याचको निम्ति भारतीय टीमबाट पदार्पण गरेका थिए तर चोटले गर्दा उनको अन्तर्राष्ट्रिय करियर अघि बढ़्न सकेन। यस साल आईपीएलमा पनि उनले चोटसँग जुझ्नु पऱ्यो। उनले लखनऊ सुपर जाइण्ट्सको निम्ति आईपीएल २०२५-मा केवल २ वटा म्याच खेले।