लाचेनमा फँसेका पर्यटकहरूलाई सड़क बहालीपछि ल्याइनेछः जिल्लापाल
मंगन: मंगन जिल्लाको विभिन्न स्थानमा घुम्न गएका पर्यटकहरू सडक सम्पर्क विच्छेद भएपछि फँसेका थिए। जसले गर्दा पर्यटकहरुलाई गान्तोक ल्याउन प्रशासनलाई चुनौती भएको थियो। तथापि, आज लाचुङबाट १८ वटा पर्यटक वाहनलाई लोवर जङ्गुको फिदाङमा सुरक्षित उतार्न सफल भएको छ। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले जानकारी गराएअनुसार आज बिहानदेखि नै स्थानीय प्रशासन, सेना, सीमा स़क संगठन, वन विभाग. ट्राभल एजेन्ट एसोसिएशन अफ् सिक्किमलगायत विभिन्न संघ-संस्थाको पहलमा फँसेका पर्यटकहरूलाई सुरक्षित ल्याउन सफल बन्यो। आज जम्मा २८४ वटा पर्यटक वाहन र १६ वटा मोटर बाइकलाई गान्तोक ल्याउन सफल भएको जानकारी गराए। जसमा कूल १६७८ जना पर्यटकहरू रहेको र तीमध्ये ७३७ पुरूष, ५६१ जना महिला र ३८० जना नानीहरू थिए। लाचुङमा फँसेका सबै पर्यटकहरूलाई सुरक्षित फिदाङ ल्याइएको जिल्लापाले जानकारी गराए। मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई सुरक्षित ल्याउनको निम्ति सम्वन्धित निकायद्वारा सञ्चालित कामको जिल्लापालले प्रशंसा गरे। जिल्लापालले थप जानकारी गराएअसार हाल लाचेनमा केही पर्यटकहरू फँसेका छन्। भारी वर्षाको कारण विभिन्न स्थानमा पैह्रो गएपछि सडक सम्पर्क विच्छेद भएको कारण पर्यटकहरुलाई होटलमै राख्ने प्रबन्ध गरेको बताए।

सड़क पुनर्बहाल हुनसाथ उनीहरुलाई गान्तोक ल्याउने तयारी रहेको जिल्लापालले बताए। फिदाङमा ल्याइएका पर्यटकहरूसंग पुलिस महानिर्देशक अक्षय सचदेवाले अन्तर्क्रिया गरेका थिए। यस अवसरमा ल एण्ड अर्डर विभागका आईजी टाशी वाङग्याल, डीआईजी प्रताप प्रधान, पुलिस अधीक्षक सोनम देचु भोटिया लगायत अन्य अधिकारीहरु उपस्थित थिए। पर्यटकहरूले सिक्किम सरकार साथै विभिन्न संघ-संस्थाहरूलाई सहयोगका लागि कृतज्ञता प्रकट गरेका छन्।