खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङ्ग पहाड, तराई अनि डुवर्सका नेपाली भाषी समुदायको तर्फबाट पत्राचार गरेका छन्। अनित थापाले मुख्यमन्त्रीलाई लेखेको उक्त पत्रमा पश्चिम बङ्गाल लोक सेवा आयोग (डब्लूबीपीएससी) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा (इएक्सइ) र अन्य परीक्षाहरूमा नेपाली भाषालाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गरेका छन्।
उनले पत्रमा संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त नेपाली भाषाले पश्चिम बङ्गालमा विशेष गरी दार्जिलिङ, तराई र डुवर्समा सांस्कृतिक, शैक्षिक र ऐतिहासिक महत्त्व राख्छ। यो राज्यको समृद्ध भाषिक सम्पदाको हिस्सा हो भनी बताएका छन्। पत्रमा डब्लूबीपीएससी परीक्षाहरूमा नेपाली साहित्य विषय समावेश नभएको कारण नेपालीमा उच्च शिक्षा हाँसिल गरिरहेका विद्यार्थीहरूमा निराशा पैदा गरेको छ, जसले उनीहरूको आकांक्षालाई बाधा पुर्याएको विषयमा पनि उल्लेख गरेका छन्। त्यसरी नै WBPSC को पाठ्यक्रममा फ्रान्सेली, अरबी, पाली र फारसी जस्ता विविध भाषाहरू समावेश गरिएका छन्, जसले समावेशीता दर्शाउँछ। नेपाली साहित्यलाई पनि पाठयक्रममा समावेश गरिँदा यसले समावेशिताको भावनासँग मेल खान्छ। उम्मेदवारहरूलाई राष्ट्रिय स्तरमा आफ्नो विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिन्छ भनी जानकारी गराइएको छ। उक्त पत्रमा यूपीएससी परीक्षाहरूमा नेपाली साहित्यलाई वैकल्पिक विषयको रूपमा समावेश गरिएको छ। डब्लूबीपीएससीको पाठ्यक्रममा नेपाली साहित्यलाई समावेश गरिए यसले विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्नेछ। उनीहरूको आकांक्षालाई प्रोत्साहन गर्नुको साथमा राज्य प्रशासनमा प्रतिनिधित्वलाई बलियो बनाउँनेछ भनी बताइएको छ।
यसको साथै नेपाली साहित्यलाई लोक सेवाको पाठ्यक्रममा समावेश गरिनुले नेपालीभाषी समुदायको निम्ति गहिरो अनि अर्थपूर्ण रहन्छ, किनकि यसले हाम्रो भाषिक पहिचान र समान प्रतिनिधित्वको आकांक्षालाई छुन्छ भनी जानकारी गराइएको छ।