खरसाङ: अखिल भारतीय नेवार संगठनको सभा खरसाङको भीमेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता इन्द्रनारायण प्रधानले गरेका थिए भने सञ्चालन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानले गरेका थिए। सभामा अखिल भारतीय नेवार संगठनको केन्द्रीय अध्यक्ष एसएन प्रधान, महासचिव श्याम प्रधान र सांस्कृतिक महासचिव उत्तम प्रधान पनि उपस्थित रहेका थिए। सभाको मुख्य उद्देश्य अखिल भारतीय नेवार संगठनको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिनु रहेको थियो। यसको साथै आगामी १७ र १८ जूनको दिन दार्जिलिङमा हुने अखिल भारतीय नेवार संगठनको केन्द्रीय महाधिवेशनलाई लिएर चर्चा परिचर्चा गरिनु रहेको जानकारी प्राप्त भएको छ।

दार्जिलिङको चौरास्तामा नेवार संगठनको वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नेवार जाति जनजाति रहेको भनी सरकारलाई देखाउन साथै पर्यटकहरुलाई आकर्षित गर्न र मनोरञ्जना दिलाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने भएको जानकारी सभामा गराइएको छ।उक्त महाधिवेशनमा भारतभरिका नेवार संगठनको प्रतिनिधिहरु उपस्थित भएर रैलीको आयोजना गर्ने तथा दार्जिलिङको चौरास्ता परिसरमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने विषयमा चर्चा परिचर्चा गर्दै उक्त दुई दिनको कार्यक्रममा खरसाङबाट पनि उपस्थिति दिनु पर्ने विषयमा छलफल गरिएको छ उक्त दुई दिवसीय महाधिवेशनमा नेवार जातिको शिक्षित व्यक्तिहरु साथै पीएचडी गर्नेहरु, ईञ्जिनियरहरु र अखिल भारतीय नेवार संगठनको लागि कार्य गर्ने संस्थापक सदस्यहरुलाई पनि सम्मान जनाइने भएको जानकारी सभाम गराइएको छ।

यस सभामा खरसाङ नगरपालिका क्षेत्र र वरिपरिका स्थानहरु लगायत तीनधारे, रोहिणी, अम्बटे, सन्त मेरिज साथै विभिन्न स्थानहरुबाौ नेवार संगठनको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यसै सभामा अखिल भारतीय नेवार संगठनको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको जानकारी सुवास प्रधानले दिएका छन्।