सोनादा: अप्पर सिडर्स प्राथमिक पाठशालामा रोटरी क्लब अफ् दार्जीलिङको आयोजना तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा नि:शुल्क स्वास्थ्य तथा औषधि वितरण शिविर सम्पन्न भएको छ। अप्पर सिडर्स प्राथमिक पाठशालामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य विभाग र रोटरी क्लब अफ् दार्जीलिङद्वारा एक दिवसीय निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण शिविर सम्पन्न गरिएको छ। यस शिविरमा विभिन्न स्वास्थ्य विशेषज्ञहरूद्वारा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधिहरू नि:शुल्क रूपमा वितरण गरिएको छ। यस शिविरको आयोजनाले विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई लक्षित गर्दै उनीहरूको स्वास्थ्यप्रति सजगता जगाउने उद्देश्य राखिएको थियो। बालबालिका, वृद्ध-वृद्धा तथा महिलाहरूको उल्लेखनीय उपस्थिति शिविरमा देखिएको छ। विशेष गरेर बन्द रहेको सिडर्स चियाबारी क्षेत्रमा आयोजित यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, निर्देशक सामदेन डुक्पा लगायत पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्यहरु, लोटरी क्लबका सदस्यहरू र अन्यहरु उपस्थित रहेका थिए। यस शिविरमा ३०० देखि ३५० जना जतिले स्वास्थ्य जाँच गराएको जानकारी प्राप्त भएको छ। यस नि: शुल्क स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले यो नि:शुल्क स्वास्थ्य जाँच शिविर मेघा शिविर नै रहेको बताएका छन्। उनले केही समय अघि जीटीए प्रमुख अनित थापाले यस क्षेत्रमा स्थलगत भ्रमण गरेको समय यहाँ रहेका बिमारीहरु टाडा टाडा पुगेर स्वास्थ्य जाँच गराउन असमर्थ रहेको पाएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा नै जीटीए र ग्राम पञ्चायतको प्रतिनिधिहरुको पहलमा मेघा स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस शिविर जीटीएको स्वास्थ्य विभाग र रोटरी क्लब दार्जिलिङको तत्वावधानमा सम्पन्न भएको बताउँदै शिविरमा अर्थोपेडिक, ईएनटी, नानीहरुको डाक्टर, आँखा, गाइनो, साधारण रोग विशेषज्ञ डाक्टरहरु साथै सुखे पोखरी खण्ड प्राथमिक स्वास्थ केन्द्र र सोनादा उप स्वास्थ्य केन्द्रबाट पनि प्रतिनिधिहरु उपस्थित रहेको जानकारी गराएका छन्। त्यसरी नै रोटरी क्लब दार्जिलिङका डाक्टर दावाले यस मेघा शिविरमा ३५० जना जति बिमारीहरुले स्वास्थ्य जाँच गराएको जानकारी गराउँदै यसमा पेसर र सुगर जाँच पनि गरिएको अनि नयाँ बिमारीहरु पनि पत्तो लगाएर दबाईहरु पनि वितरण गरिएको जानकारी गराएका छन्।