गान्तोक: पाँच वर्षको अन्तरालपछि सिक्किमको अन्तर्राष्ट्रिय सीमा नथुला हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर यात्राको तयारी शुरु भएको छ। यो यात्रा आगामी १५ जूनमा शुरु हुनेछ। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागीय अतिरिक्त मुख्य सचिव सीएस रावले आधिकारिक रुपमा उक्त जानकारी गराएका छन्। रावले बताएअनुसार कैलाश मानसरोवर यात्रा गान्तोकबाट शुरु हुनेछ र कैलाश मानसरोवरसम्म पुग्नअघि भारत-चीनको नथुला सीमामा औपचारिक प्रक्रिया हुनेछ। यात्रालाई सुगम बनाउनका लागि गान्तोक र नथुलाबीच वातावरण अनुकूलन केन्द्रहरू स्थापना गरिएको उल्लेख गर्दै सम्पूर्ण यात्रा पूरा हुन लगभग २०-२१ दिनको समय लाग्ने जानकारी गराए। उनले थप उल्लेख गरेअनुसार यात्रीहरूको पहिलो जत्थाले ११ जूनको दिन दिल्लीमा रिपोर्ट पेश गर्नेछ र यात्रा शुरु गर्नुअघि चिकित्सा जाँच र आवश्यक पर्मिट र मञ्जुरी प्राप्त गर्नेछ। यात्रा ४८ जना यात्रीहरूका १० जत्थाद्वारा गरिनेछ, जसमा सम्पर्क अधिकारी, भान्से र सहायक कर्मचारीहरू पनि हुनेछन्, अतिरिक्त सचिव रावले भने। अझ अघि बोल्दै रावले जानकारी दिएअनुसार राज्य सरकारले यात्रीहरूको लागि विस्तृत व्यवस्था गरेको छ, जसमा गान्तोकमा एक भव्य स्वागत कार्यक्रम हुनेछ। जसमा योग कक्षा, बिहानको व्यायाम सत्र र ध्यान कार्यक्रम सामेल छन्। यात्रीहरूलाई मार्ग र यात्रा कार्यक्रमको बारेमा परिचित गराउनका लागि पर्यटन विभाग र सिक्किम पर्यटन विकास निगमद्वारा ब्रिफिङ सत्र आयोजन गरिनेछ। यस अतिरिक्त, पर्यटन विभाग र भारत पर्यटन कार्यालयका अधिकारीहरूले यात्रीहरूसँग अन्तर्क्रिया गर्ने जानकारी पनि रावले गराएका छन्। यसबाहेक तीर्थ य़ात्रीहरूसँग हुनसक्ने कुनै पनि शङ्का वा समस्यामाथि पनि गम्भीरतासित काम गरिने बताए। यात्रालाई सुचारू र सफल बनाउनका लागि राज्य सरकारले एक मजबुत सहायता प्रणाली स्थापित गरेको जानकारी गराउँदै उनले यात्राको क्रममा विभिन्न स्थानहरूमा आवास, भोजन, चिकित्सा सुविधा र आपतकालीन सेवाहरूको व्यवस्था सामेल गराएको जानकारी पनि गराए। कैलाश मानसरोवर यात्रा एक असाधारण साहसिक कार्य हो जसको लागि सावधानीपूर्वक योजना र तयारीको आवश्यकता पर्दछ, रावले भने। रावले भने, यात्रीहरूलाई उनीहरूको यात्राभरि सहायता र मार्गदर्शन गर्न राज्य सरकारले उल्लेखनीय संसाधनहरू निवेश गरेको छ। उनले यात्रीहरूका लागि एक स्मरणीय तथा समृद्ध अनुभव प्रदान गर्ने राज्य सरकारको प्रतिबद्धतालाई थप जोड दिँदै प्रबन्धनका लागि सेनाका अधिकारी र आईटीबीपीसँग समन्वय र परिवारहरूलाई सूचित राख्नका लागि प्रमुख स्थानहरूमा हटलाइनको व्यवस्था भइरहेको विषयमा प्रकाश पारे। रावले स्वास्थ्य विभाग, पुलिस विभाग, विद्युत् विभाग, जनस्वास्थ्य अभियान्त्रिकी (पीएचई) विभाग र दूरसञ्चार विभागसहित यात्रालाई सुविधाजनक बनाउनमा सामेल प्रमुख विभागहरूको कार्ययोजनामाथि पनि उल्लेख गरे। सिक्किमको अनौठो आकर्षणको बारेमा थप प्रकाश पार्दै रावले भने, सिक्किमको विशिष्ट भौगोलिक स्थिति र जलवायुले कैलाश मानसरोवर यात्रालाई एक आदर्श गन्तव्यको रुपमा खड़ा गरेको छ। ७०९६ वर्ग किलोमिटरमा फैलिएको सिक्किममा ६ प्रभावशाली वनस्पतिहरू र ३०० मिटरदेखि ८५८६ मिटरसम्मको उल्लेखनीय उँचाइमा कञ्चनजङ्घा पर्वत श्रृङ्खला रहेको उनले थप बताए। उल्लेखनीय कुरा के छ भने गान्तोकदेखि नथुलासम्मको केवल ४९ किलोमिटरको दुरीमा यात्रीहरूले ३-४ अलग-अलग वनस्पतिहरूको अनुभव गर्ने जानकारी पनि दिए। यात्रीहरूलाई न्यानो स्वागत जनाउँदै रावले उनीहरूलाई आवश्यक ऊनी कपड़ा र नियमित औषधिहरू बोक्न सल्लाह दिएका छन्। सिक्किम सरकारले यात्रीहरूको सुरक्षा सुनिश्चित गर्दै प्रतिष्ठित कैलाश मानसरोवर यात्राका लागि विश्वभरिका पर्यटकहरूलाई स्वागत गर्न तयारी गरिरहेको बताए। रावले तीर्थ यात्रीहरुलाई सरकारी अधिकारी र कर्मचारीहरूबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन दिएका छन्।