गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा प्रजातन्त्रको स्वर्णजयन्तीको अवसरमा राज्य सरकारका सबै विभागले सक्रिय सहभागिताको साथमा केही न केही कार्यक्रम आयोजना गरिरहेको समय पुलिस विभाग पनि पछि परेको छैन। यसै क्रममा आज दक्षिण सिक्किमको थर्ड आइआरबी क्याम्प माङ्गलेमा प्रतियोगितात्मक एकीकृत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। यस अवसरमा पुलिस विभागका विभिन्न बटालियनका सदस्यहरूले विभिन्न सांस्कृतिक प्रतियोगिता साथै परेडमा सक्रिय सहभागिता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्य स्थापनाको यस स्वर्णजयन्तीको अवसरमा राज्यको विकासमा पुऱ्याएको योगदानको निम्ति सिक्किम पुलिसको मुग्धकण्ठले प्रशंसा गरे। विशेष गरेर राज्यमा कानून व्यवस्था कायम राखेर सिक्किमलाई देशकै शान्त राज्यहरू मध्ये एउटा बनाएकोमा उनले सिक्किम पुलिसको सराहना गरे। मुख्यमन्त्रीले सिक्किम पुलिसलाई अनुशासित अनि कर्तव्यपरायण बताए।

कानून व्यवस्था बनाइराख्ने आफ्नो जिम्मेवारीसँगै पुलिसकर्मीहरूले सांस्कृतिक एवं खेलकुद कार्यक्रममा पनि उत्तिकै चासो र क्षमता देखाएकोमा मुख्यमन्त्री तामाङले हर्ष व्यक्त गरेका छन्। यसको साथै उनले आगामी वर्षदेखि तीन दिने सिक्किम पुलिस मीट आयोजना गरिने पनि घोषणा गरे। पुलिसकर्मीहरूलाई आफूमा भएका खेलकुद, कला तथा अन्य प्रतिभाहरूलाई प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिने मुख्यमन्त्रीको भनाइ रहेको छ। सेप्टेम्बरदेखि दिसम्बर महिनाभित्र यो कार्यक्रम प्रत्येक वर्ष अलग अलग स्थानमा आयोजना गरिने उनले थप बताए। त्यसै अवसरमा विभिन्न पुरस्कार जस्तै बेस्ट पुलिसिङ डिस्ट्रिक्ट अवार्ड, बेस्ट बटालियन अवार्ड, बेस्ट पुलिस स्टेशन अवार्ड, बेस्ट पुलिस पर्सन (अफिसर र जवान) जुन आउटडोर र इन्डोर रहने मुख्यमन्त्रीले जानकारी गराए। यसको निम्ति सरकारले बजेट आवण्टन गर्ने भएको छ।