गान्तोक: देशको राजधानी नयाँ दिल्लीमा आयोजित ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको बैठकमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र महासचिव सुकान्त दासले राज्यको प्रतिनिधित्व गरे। ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाका अध्यक्ष एवं असम राज्यका मुख्यमन्त्री हेमन्त विश्व शर्माको अध्यक्षतमा बसेको सभामा देशभऱिका ब्याडमिन्टनसँग सम्वन्धित पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त सभामा उत्तरपूर्वी राज्यहरुलाई गम्भीरतासित ध्यान केन्द्रित गरिएको थियो। सिक्किमबाट गएका अध्यक्ष खालिङको सहभागिताले आगामी राष्ट्रिय प्रतियोगिता र पूर्वाधार परियोजनाहरूमा सिक्किमको समावेशीकरणको लागि बलियो सहयोग मिल्नसक्ने संकेत देखाएको छ। राज्यका युवा प्रतिभालाई प्रेरित गर्नको साथै उत्तरपूर्वी राज्यहरूलाई राष्ट्रिय ब्याडमिन्टन इकोसिस्टममा एकीकृत गर्ने लक्ष्य राखेर यसमा लगानी गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। उनको उपस्थितिले भारतको खेलकुद क्षेत्रमा सिक्किमको बढ्दो भूमिकालाई पुन: पुष्टि गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा खेलकुदको विकास भएको र अझ यसलाई उच्चस्तरमा पुऱ्याउन सरकार प्रतिवद्ध रहेको बताइएको छ।